आमा समूहको सक्रियतामा पार्क निर्माण

park 01
लाेकपाटी न्यूज
0 Shares

रमेश भुसाल। पश्चिम नवलपरासीमा पर्यटक आकर्षण गर्ने उद्देश्यको साथ यहाँको एक आमा समूहले सहयोग रकम सङ्कलन गरेर पार्क निर्माण गरेको छ।

गाउँमा हुने हरेक सामाजिक कार्यमा अग्रसर हुँदै आएको मझेरी आमा समूह धनेवाको पहलमा बर्दघाट नगरपालिका–१३ धनेवास्थित खानेपानी आयोजनाको छेउमा धनेवा खोला किनारमा रहेको पाँच कठ्ठा जग्गामा सुविधायुक्त पार्क निर्माण भइरहेको छ।

मझेरी आमा समूहले प्रत्येक एकादशीमा समूह सदस्यको घरमा पालैपालो भजनकिर्तन गरी त्यहीँबाट प्राप्त सहयोग रकमबाट पार्क निर्माणको अवधारणा अघि सारेको समूहकी अध्यक्ष रेवती बराल ले बताइन्।

आमा समूहमा ४७ जना सदस्य रहेका छन्। महीनाको दुई पटक प्रत्येक एकादशीमा आमा समूहले भजनकिर्तन गर्दा एक सदस्यको घरमा वर्षमा एकपटक पालो पर्दछ। त्यहाँबाट आउने स्वेच्छिक सहयोग रकम सङ्कलन गरी उक्त समूहले विभिन्न सामाजिक कार्यसँगै पार्क निर्माणलाई अघि बढाएको उनले बताइन्।

गतवर्ष पार्क निर्माणका लागि खोला किनारदेखि पार्क हुँदै सडक किनारसम्म ट्रयाक निकाल्न साढे १६ हजार खर्चेर माटो हालेको र १२ हजार खर्चेर पार्कमा विभिन्न थरिका फूल रोपेको भएता पनि त्यही वर्ष धनेवा खोलामा आएको बाढीले सवै बगाइदिएको अध्यक्ष बरालले बताइन्।

उक्त पार्कमा आँप तथा सालका रुखहरु प्रयाप्त रहेका छन् भने छेउमा बाँसघारी पनि छ। यसैगरी आमा समूहकै पहलमा पार्क परिसरमा लक्ष्मीको मन्दिर निर्माणाधीन अवस्थामा रहेको छ। रकम अभावले उक्त मन्दिरले पूर्णता पाउन सकेको छैन।

पार्क परिसरमा घुम्न आउने पर्यटकलाई बस्नका लागि विभिन्न व्यक्तिहरुको सहयोगमा सिमेन्टका केही बेञ्चहरु बनाइएको छ। समूहकै सदस्यहरुले आफ्ना दिवङ्गत परिवारका सदस्यहरुको स्मृत्तिमा एक÷एक वटा बेञ्च निर्माण गरेको समूहकी सचिव रोजी ज्ञवालीले जानकारी दिइन्।

‘पार्कको संरक्षणका लागि छेउछेउमा सिमेन्टको पिलर बनाइएको छ। तर, रकम अभावले तारबार गर्न सकेका छैनौँ, हामीलाई प्रकृत्तिले पनि साथ दिएन, हामीसँग धन नभएपनि मन छ, मन्दिरको पूर्णता दिन, आकर्षक फूलबारी, वरपर तारवार, नदीछेउमा तटबन्ध गर्दै व्यवस्थित पार्क निर्माणका लागि हामीलाई सहयोगको खाँचो छ’ सचिव ज्ञवालीले भनिन्।

उक्त क्षेत्रमै पार्क नभएकाले यसलाई व्यवस्थित बनाउँदै पिकनिक स्थल तथा बालबालिकाको मनोरञ्जनको स्थल पनि बनाउने उद्देश्यले पार्क निर्माण अघि सारिए पनि अधुरै भएपछि आमा समूहले सहयोगको याचना गरेको छ। मझेरी आमा समूहको सामाजिक कार्यमा अग्रसरताले उक्त गाउँमा सकरात्मक परिवर्तनहरु देखिएको स्थानीयवासी बताउँछन ।

विसं. २०७३ सालमा स्थापना भएको उक्त आमा समूहले गाउँको सरसफाई, विवाह,व्रतबन्ध तथा सार्वजनिक कार्यक्रमहरु पनि आमा समूहलाई बोलाउने गरिएको स्थानीय समाजसेवी दीपक बराल बताउछन्। यो क्षेत्रकै उदाहरणीय आमा समूहको रुपमा परिचित यस समूहको सक्रियताले धनेवा क्षेत्रमा मदिरा बिक्री रोकिएको बराल बताउछन्।

आमा समूहको सक्रियता देखेर सांसद देवेन्द्रराज कंडेल, पूर्वसांसद विक्रम खनाल र बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्यालले सहयोग गरेको समूहले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्