कांग्रेस सभापति देउवा सम्मानित

Deuba
लाेकपाटी न्यूज

काठमाडौं, २८ वैशाख। धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्मान गरिएको छ। महेश रामायण सभाले आफनो हरेक (६०औं स्थापना दिवस) महोत्सवको समापनको अवसरमा सभापति देउवालाई सम्मान गरेको हो।

सभाले सीतारामा माध्यामिक विद्यालयमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने प्रथम समूह रहेको भन्दै सम्मान गरेको थियो। देउवाले विक्रम संवत् २०१९ सालमा सो विद्यालयमा प्रवेशिका परीक्षा दिएर उत्तीर्ण भएका थिए। देउवासँगै त्रिभुवन विश्वविद्यालयका पूर्व डिन डाक्टर प्रेमराज पन्त र गोविन्द केसीले सो विद्यालयबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका थिए।

सभापति देउवालाई विद्यालयका पूर्व प्राचार्य लोकराज पन्तले दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए भने पन्त र केसीका आफन्तलाई पूर्वप्रधानमन्त्री सभापति देउवाले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए।

नेपाली कांग्रेसका सभापतिसहित प्रतिनिधि सभा सदस्य एवम् नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, पूर्वमन्त्री भक्तबहादुर बलायर, वीरबहादुर बलायर, प्रदेश सभा सदस्य पूर्णा जोशी लगायतलाई पूर्व विद्यार्थीका रुपमा सभाले सम्मान गरेको थियो।

यस्तै, सभाले विद्यालयका पूर्व प्राचार्य, संस्थापक सदस्य, चन्दादाता, समाजसेवीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो।

सभाले डाक्टर मेघनाथ पन्तलाई विद्यालयमा चार लाख ५० हजारको प्रथम छात्रवृत्ति अक्षय कोष स्थापना गरेकोमा सम्मान गरेको थियो।