आईपीएलकाे याे सिजन पहिलाकाे भन्दा राम्रो भयो : सन्दीप लामिछाने

sandip lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार स्वेदश फर्किएका छन् ।

दिल्ली क्यापिल्टसमा आबद्ध सन्दीपको टोलीको यात्रा तेस्रो हुँदै सकिएपछि आइतबार स्वदेश फर्किएका हुन् । ६ खेल खेल्ने अवसर पाएका लामिछानेले ८ विकेट लिएका थिए । स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लामिछानेले गत सिजनभन्दा यो सिजन आईपीएलमा राम्रो प्रदर्शन गरेको बताए । टिमको प्रदर्शन र आफनो प्रदर्शनमा सन्तुष्ट रहेको बताएका लामिछानेले पाएको मौका सदुपयोग गर्न सफल भएकोमा खुशी व्यक्त गरे।

उनले भने, ‘गत सिजन टोली आउट भइसकेपछि खेल्न पाएको थियो । तर यस सिजन ६ खेल खेल्न पाए । खुसी लाग्यो । त्यहाँका स्थानीय खेलाडीलाई उछिन्दै खेल्न पाएँ । तर, कतिपय अवस्थामा टोलीको निर्णय हुन्छ । कहिले खेल्न पाएँ । कहिले पाइन । मभन्दा राम्रो खेलाडीले मभन्दा पनि राम्रो खेल खेले । तर, आईपीएलको यो सिजन राम्रै भयो ।’

आईपीएलको प्रदर्शनमा सन्तुष्ट रहेका लामिछानेले दिल्लीले १६ खेल खेल्दा ६ खेलमा प्लेइङ ११ मा समावेश गरिएका थिए । सन्दीपले भने, ‘सिक्ने क्रम कहिले सकिँदैन् । कहिले धेरै रन खाइन्छ । कहिले राम्रो गरिन्छ । तर, आफूलाई प्रमाणित गरीरहेको छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्