काठमाडौं, ३० वैशाख। एभिन्यूज खबरका पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ। आफूलाई समाजवादी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट पाण्डेलाई ज्यान मार्ने धम्की आएको एभिन्यूज टेलिभिजनले जनाएको छ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एभिन्युज टेलिभिजनको एक अन्तर्वार्ताबाट बाहिरिएका थिए। अध्यक्ष यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए।
सामाजिक सञ्जालमा उक्त घटनाको चर्को बहस भएको छ भने उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।पत्रकार सुशील पाण्डेले उक्त कार्यक्रम सञ्चालन गर्दा केहि प्रश्न अनि अभिव्यक्तिका कुरामा दुबैको मतान्तर भएपछि उपेन्द्र यादव माइक छाडेर निस्केका देखिन्छन्। मुख्यतया उपेन्द्रको पार्टीको नयाँ शक्तिसंगको एकात्मकता अनि अहिले सरकारमा भएका नाताले भ्रष्टाचार प्रकरणलाई लिएर सोधिएका केहि विषणगत र ठाडा प्रश्नबाट वहालवाला मन्त्री असन्तुष्ट भई निस्केका देखिन्छ।
यस्तै उक्त अन्तरवार्ताको विषयलाई लिएर एभिन्युज खबरको वीरगञ्जस्थित ब्युरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ। कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएको बताइएको छ।
वीरगञ्जस्थित एभिन्यूज खबरका संवाददाता मुस्कान श्रेष्ठका अनुसार कार्यालयमा काम गरिरहेको अवस्थामा साढे १२ बजेतिर मुखमा कालो पट्टी बाँधेका केही मानिसहरू आएर तोडफोड गरेको उक्त टेलिभिजनले जनाएको छ। उनीहरुले कार्यालयको सिसा फुटाएको अफिसको ब्यानर च्यात्नुका साथै क्यामरा तोडफाड गरेका थिए।