अधिवक्ता ढकालको पक्राउप्रति नेपाल बारको आपत्ति

nepal-bar-association election
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० वैशाख। विप्लव माओवादी निकट अखिलक्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाल पक्राउ परेका छन्। अधिवक्ता ढकाललाई प्रहरीले विद्यार्थीसंगठनहरूले आयोजना गरेको पत्रकारसम्मेलनबाटै पक्राउ गरेको हो।

अधिवक्ता ढकाललाई प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै नेपाल बार एशोसियसनले विरोध जनाएको छ। उनलाई विनाशर्त रिहाइ गर्नपनि बारको माग छ। शुक्रबार ढकाललाई अनामनगरस्थित यूनियन हाउसमा भएको पत्रकार सम्मेलनबाटै प्रहरीले पक्राउ गरेको थियो।

ढकाल अखिलक्रान्तिकारीका अध्यक्षमात्र होइन ललितपुर जिल्ला अदालत बार इकाइका सदस्य पनि हुन्। नेपाल बार एशोसियशनका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने उनलाई गरिएको पक्राउ गैरकानूनी भएको बताए।शान्तिपूर्णरूपले पत्रकार सम्मेलनमा भाग लिइरहेको व्यक्तिलाई कुने आधारविना पक्राउ गर्न पाँइदैन भनेर बारले हिजै विज्ञप्ति जारी गरेको छ, बार अध्यक्ष श्रेष्ठले भने, कानून व्यवसायीमात्र हैन कुनै पनि सामान्य व्यक्ति गैरकानूनी पक्राउ पर्नु गलत हो।

नेपाल बार एशोसिएशनले आइतबार उनको रिहाइ माग गर्दै विज्ञप्ति निकालेको छ। कानुनव्यवसायीको स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने हक खोसिएको भन्दै बारले उनको पक्राउको विरोध गरेको हो। अधिवक्ता चिरञ्जीवी ढकाललाई गैरकानुनीरूपमा गरिएको गिरफ्तारसम्बन्धमा आवश्यक छानविन गरी घटनामा संलग्न दोषी उपर कानूनी कारवाही गर्न र गिरफ्तार गरिएका अधिवक्ता ढकाललाई बिना शर्त तत्काल रिहाई गरी कानुनव्यवसायीको स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक र कानुनीहकको प्रत्याभूती गर्न सरोकारवाला निकाय समक्ष नेपालबार एशोसिएशन माग गर्दछ, बारको विज्ञप्तिमा भनिएको छ।

प्रहरीले भने उनलाई विप्लवसमूहमा आवद्ध भएकाले पक्राउ गरिएको बताएको छ। हिंसात्मक गतिविधि गर्ने विप्लव समूहमा आवद्ध भएर सक्रियरूपमा काम गरिरहेको पाइएकाले कानूनबमोजिम नै पक्राउ गरिएको हो, काठमाडौं प्रहरीका प्रवक्ता एसपी अशोक सिंहले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्