यसरी टुङ्गिदैछ जेठ ३ मा नेकपाकाे एकता

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकी रहेका एकीकरणका काम टुंग्याउने भएको छ। पार्टी एकताको एक वर्ष पुगेको अवसरमा बाँकी रहेका एकीकरणका काम टुंग्याउने भएको हो।

तत्कालिन एमाले र माओवादीबीच जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुग्दैछ। सोहीअनुसार एकीकरणका बाँकी काम टुंग्याउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेल गृहकार्यमा जुटेका छन्।

स्रोतका अनुसार जेठ ३ अघि जनवर्गीय संगठन, पोलिटब्यूरो, केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभागका प्रमुख र उपप्रमुख टुंग्याउने गरी छलफल चलिरहेको छ। तीन नेताहरुबीच यी विषयमा केही सहमति पनि जुटिसकेको छ। भियतनाम र कम्बोडिया भ्रमणमा जानुअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालसँग परामर्श गरी एकताको गृहकार्य गर्न महासचिव पौडेललाई जिम्मा दिएका थिए।

सोहीअनुसार तीन नेताले छलफल थालेर एकीकरणको प्रस्ताव बनाइसकेका छन्। प्रधानमन्त्री ओली विदेश भ्रमणबाट फर्केसँगै सचिवालयको बैठक बसेर उक्त प्रस्तावलाई आवश्यक परे परिमार्जन गरी अनुमोदन गर्ने तयारी रहेको सचिवलायका एक नेताले बताए।प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किदैँछन्। जेठ २ मा सचिवालयको बैठक बस्ने भएको छ।

पार्टी एकताको एक वर्ष पुगेको अवसरमा नेकपाले औपचारिक कार्यक्रम समेत गर्ने भएको छ। सोही कार्यक्रममा एकीकरण सम्बन्धि पछिल्ला निर्णय सार्वजनिक गरिने छ । नेकपाका पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन।

यसबाहेक विधान परिमार्जन र राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने बाँकी नै छ। यो बीचमा नेकपाले दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा पौडेल र श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठन, ७७ जिल्ला कमिटीको नेतृत्व चयनको काम सकिएको छ। तीन नेताबीच १४७ सदस्यीय पोलिटब्यूरो सदस्यको नामावलीमा सहमति जुटेको छ। पोलिटब्यूरोमा तत्कालिन एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य रहनेछन् ।

त्यस्तै मुख्य विवाद रहेको जनवर्गीय संगठनमध्ये युवा, महिला साथै पत्रकार तत्कालिन माओवादीले लिने र विद्यार्थी, मजदुर र बुद्धिजिवि संगठन तत्कालिन एमालेले लिने करिब–करिब सहमति जुटेको छ। त्यसबाहेक अन्य जनवर्गीय संगठनमा छलफल चलिरहेको छ।

त्यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा केन्द्रीय विभाग पनि पर्ने भएकाले केही मुख्य विभागहरुका प्रमुख र उपप्रमुख पनि तोकिने भएका छन्। विभाग प्रमुख स्थायी कमिटी सदस्यबाट हुनेछन्। यी बाहेक प्रवास कमिटी, मञ्च, परिषद्, आयोग लगाएतका अन्य बाँकी काम ३ गतेपछि टुंग्याउने सहमति भएको छ। नेकपाले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षको अवसरमा तत्कालिन एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको छ।