‘विप्लव’का कार्यकर्ता पक्राउ नगर्ने प्रहरीको रणनीति, निसानामा नेताहरु

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख । प्रहरीले अब नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सबै कार्यकर्तालाई गिरफ्तार नगर्ने आन्तरिक नीति अपनाएको छ । अपराधिक क्रियाकलापमा संलग्न तथा हिंसात्मक घटनामा जोडिएकालाई पक्राउ गर्ने तर कार्यकर्ता भएकै कारण पक्राउ नगर्ने नीति अपनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले विप्लवसहित सो समूहका नेता–कार्यकर्ता खोज्न देशभर ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाउँदै आएको छ । २८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रहरीले सामान्य कार्यकर्तालाई पनि समात्ने र अदालतमा अभियोग प्रमाणित नहुँदा छुट्न थालेपछि प्रहरीले अभियोग नलागेका कार्यकर्ता नसमात्ने रणनीति बनाएको हो । एक उच्च प्रहरी अधिकारीले अपराधिक गतिविधि र ध्वंसात्मक क्रियाकलापमा संलग्न नभएकालाई नसमात्ने तर गोप्य भेला, सभा, कार्यक्रममा सहभागी भएको पाइए समात्ने रणनीति रहेको जनाएका छन्। प्रहरी प्रधान कार्यालयले यसबारे मौखिक निर्देशन समेत दिइसकेको ती अधिकारीले बताए ।

प्रतिबन्ध पछि मात्रै देशभरबाट विप्लव समूहका ४ सय बढी नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकामध्ये हेमन्तप्रकाश वली ‘सुदर्शन’ नै सबैभन्दा उच्च तहका नेता हुन् । प्रहरीले पक्राउ परेका विप्लव समूहका नेता–कार्यकर्तालाई राज्यद्रोह र सार्वजनिक अपराध ऐनमा मुद्दा चलाउँदै आएको छ । उच्च सुरक्षा स्रोतका अनुसार अन्य नेता–कार्यकर्ता विरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भए पनि विप्लवलाई जसरी पनि समात्नु भन्ने आदेश नभएको बताइन्छ । सुरक्षा संयन्त्रले पनि सरकारलाई औपचारिक र अनौपचारिक रुपमा विप्लवको समस्यालाई पहिले राजनीतिक रुपमै हल गर्न सुझाउँदै आएका छन् ।

विप्लव विरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता छन् । विप्लवलाई समात्ने रणनीति अन्तर्गत सुरक्षा संयन्त्र सुक्ष्म रुपमा नलागे पनि विप्लव कहाँ छन्, के गर्छन्, कता बस्छन्, कसकसलाई भेट्छन् भन्ने सूचना संकलन भने राज्य संयन्त्रले गर्दै आएका छन् । सुरक्षा अधिकारीहरुले विप्लव नेपालमा नभएको दाबी गर्दै आएका छन् । विप्लव समूहको गतिविधि निगरानी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले समेत गर्दै आएको छ ।

सुरक्षा निकायले विप्लवका नेता–कार्यकर्ता खोज्ने अभियान तिव्र पारेपछि शीर्ष नेता भूमिगत भएका छन् । पार्टीले औपचारिक रुपमा भूमिगत हुने नीति अख्तियार नगरेपछि शीर्ष नेता पछिल्लो समय सम्पर्कमा आउन छाडेका छन् । सबैजसो नेता–कार्यकर्ताले यसअघि प्रयोग गर्दै आएका सिमकार्ड समेत फेरेको बताइएको छ।