जेठ ३ मा एकताको बाँकी काम टुङ्गिएको घोषणा हुन्छ : महासचिव पौडेल

bishnu-paudel-1
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आगामी जेठ ३ गते जनसंगठनको एकता घोषणा हुने बताएका छन्। महासचिव पौडेलले जननेता मदन भण्डारी र कुशल संगठन जीवराज आश्रितको २६ औं स्मृति दिवस तथा पार्टी एकताको एक बर्षको अवसर पारी जेठ ३ गते तत्कालिन एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा आयोजना हुने कार्यक्रममा जनसंगठनसहित एकताको बाँकी कामको टुंगो लागेको घोषणा हुने बताए।

उनले भने, ‘गत बर्ष मदन आश्रित स्मृति दिवसमा हामीले दुई पार्टीबीच एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी गठन गर्दा तीन महिनाभित्र सबै तहको एकताको टुंगो लगाउने घोषणा गरेका थियौं, तर अझै हुन सकेको छैन, हाम्रा दुवै अध्यक्षहरुले जेठ ३ मा एकताको बाँकी काम सम्पन्न हुन्छ भन्नुभएको छ, समयको चाप महसुस गरी काम गर्ने नेतृत्वको बानी पनि रहेकोले जेठ ३ गते मदननगर बल्खुमा आयोजना हुने कार्यक्रमबाट जनसंगठनसहित एकताको बिषयमा महत्वपुर्ण घोषणा हुन्छ।’

गत बर्षको जेठ ३ मा एकता भएको नेकपाको जनसंगठनको एकता, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय निकाय र विभाग गठन हुन सकेको छैन। यसबीचमा प्रदेश कमिटी, जिल्ला कमिटी र जिल्ला कमिटी मातहतको स्थानीय कमिटीहरुको एकता भने भइसकेको छ । महासचिव पौडेलले सोही अनुसार जेठ ३ गते एकताको काम टुंगो लगाएर घोषणा हुने जनाए।

नेकपाले जेठ ३ मा मदननगर बल्खुमा नै कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । सो कार्यक्रममा सहभागी हुन नेकपाले सवै नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ ।