अमेरिकी जहाज डुबाईदिने इरानको चेतावनी

pic boat
लाेकपाटी न्यूज

काठमाडौं, १ जेठ । परमाणु सम्झौता लगायतका विषयहरुबाट चिस्सिएको अमेरिका र इरानबीचको तनाव कम हुने छाँट देखिएको छैन।

त्यसमाथि पनि गत साता अमेरिकाले खाडीमा लडाकु पानीजहाज तथा युद्धपोत खटाएपश्चात इरान र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बनिरहेको छ। यसबीच इरानले पर्सियन खाडीमा रहेको अमेरिकी विमान वाहक (एयर क्राफ्ट क्यारियर) लाई डुबाईदिने चेतावनी दिएको छ।

इरानी स्टुडेन्ट्स न्युजका अनुसार इरानका एक वरिष्ठ रिभोलुसनरी गार्डका कमान्डरले अमेरिकी विमान वाहक जहाजलाई निसाना बनाई डुबाईदिने चेतावनी दिएका हुन्। गार्डको एरोस्पेस विभागका प्रमुख हमिराली हाजिजादेहले भने “कम्तीमा पनि ४० देखि ५० सम्मको लडाकु विमान र ६ हजारको सेना रहेको विमान वाहक हाम्रा लागि गम्भीर चुनौती हो।

हाल यसलाई निशाना बनाइएको छ र यो चुनौती अवसरमा बदलिएको छ। यदि अमेरिकाले कुनै कदम चालेमा हामी उनीहरूको टाउकोमै प्रहार गर्नेछौँ”। यता अमेरिकाले भने इरानबाट आएको चेतावनीको प्रतिकार गर्न आवश्यक भएको बताउँदै अमेरिकाले मध्यपूर्वमा विमान वाहक र बी–५२ बम्बर पठाएको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तेहरानको परमाणु र क्षेप्यास्त्र कार्यक्रममाथि नियन्त्रण गर्न र सिरिया, इराक, लेबनान र यमनमा फर्जीहरूलाई गर्दैै आएको समर्थन रोक्नका लागि आर्थिक दबाब दिँदै आएको छ। यता विदेश मन्त्री माइक पोम्पियोले सम्भावित इरानी आक्रमण रोक्न र उनीहरूलाई आवश्यक भएमा त्यहाँबाट भगाउनका लागि अमेरिकाले यो कदम चालेको बताएका छन्।

अमेरिकी दबाब बढ्दै गएपछि राष्ट्रपति हसन रुहानी पनि देशभित्र ठूलो राजनीतिक दबावमा पर्दै गईरहेका छन्। तथापी उनले अमेरिकी आर्थिक प्रतिबन्धसँग जुध्न देशभित्र राजनीतिक एकताको आह्वान गरेका छन्। उनले केही दिन अघि भनेका थिए।

“दुस्मनहरूले दिएको दबाव हाम्रो इस्लामिक क्रान्तिको इतिहासमै अभूतपूर्व स्तरको छ तर म विचलित छैन। हाम्रो भविष्यप्रति ठूलो आशा छ। यदि एकीकृत हुने हो भने हामी यी कठिन अवस्थाबाट पार पाउन सक्छौँ भन्ने मलाई विश्वास छ”।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्