काठमाण्डौं, २ जेठ। ९ महिना अघि सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ।
विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए। अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ।
बुधबारदेखि नै खोजी सुरु गरेको टोलीले बिहीबार बिहान शव बाहिर निकालेको हो। बराइली साथीको उद्धार गर्न जाने क्रममा शरीरमा लगाएको कपडासहित डुबेका थिए। त्यसै आधारमा उनको पहिचान गरिएको हो। बेपत्तामध्ये अब पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी छ।
अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबोट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थियो।गएको असोजमा खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेको थिए।
शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तेश्रो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गएको साउनमा बेपत्ता भएका थिए। बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव त्यति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराइरहेका थिए।