पदम विश्वकर्माको ‘तमसुक’ लोकार्पण

tamsuk01
लाेकपाटी न्यूज

काठमाडाैं, ०२ जेठ । करिब दुई दशकदेखि अमेरिकामा रहँदै नेपाली साहित्यलाई विश्वभर फैलाउने अभियानमा सक्रिय साहित्यकार पदम विश्वकर्माको पहिलो कथासंग्रह ‘तमसुक’ को लोकार्पण गरिएको छ ।

प्रज्ञा भवनमा आयोजित उक्त लोकार्पण कार्यक्रममाझ साहित्यकार माया ठकुरी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायतले तमसुकको लोकार्पण गरे । लोकार्पण कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, प्रा.डा. सुरेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै वरिष्ठ साहित्यकार माया ठकुरीले साहित्यकार पदम विश्वकर्माको कृतिले समाजमा रहेको दोयद्ध चरित्रलाई उजागर गर्नु निकै सुन्दर पक्ष रहेको बताईन् । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले विगतमा अनेसासको दुई कार्यकाल सफल नेतृत्व समालिसकेका साहित्यकार पदम विश्वकर्माको कृतित्व र व्यक्तित्व निकै गौरवशाली रहेको उल्लेख गरे।

कथा संग्रहकी समीक्षक ज्ञानु अधिकारीले तमसुकले मानव जीवनको विसम परिस्थितिलाई दर्शाएको बताउँदै प्रविधि, पैसा र नशाले मानव जीवनमा पार्ने प्रभावका सन्दर्भमा मिहिन रुपमा प्रस्तुत गरेको बताइन् ।

कथा संग्रहका लेखक पदम विश्वकर्माले आफ्नो लेखन यात्रालाई साथ र हौसला प्रदान गर्ने काममा आफ्नो श्रीमती कमला विश्वकर्माको ठुलो देन रहेको बताउँदै तमसुक पढ्दै जाँदा पात्रको जीवनमा आफंै प्रवेश गरेको आभाष मिल्ने दाबी गरे ।

नेपाल लघुकथा संघका अध्यक्ष श्री ॐ श्रेष्ठ रोदनले कथाकारले प्रवासी नेपालीले विदेशी भूमिमा भोगेका सन्दर्भलाई निकै सिर्जनात्मक रुपमा प्रस्तुत गरेको बताए । त्यस्तै साहित्यकार दामोदर पुडासैनीले अनेसासको सबल नेतृत्व गरेका पदम विश्वकर्माद्वारा सिर्जित तमसुक निकै लोभलाग्दो पुस्तकका रुपमा रहेको बताए । अनेसासका सल्लाहकार प्रा.डा. खगेन्द्र प्रसाद लुईंटेलले पदम विश्वकर्मा साहित्यकार भन्दा बढी साहित्यिक संस्थाको सबल नेतृत्वकर्ता रहेको उल्लेख गर्दै उनको लेखन शैली प्रशंसायोग्य रहेको बताए ।

कार्यक्रममा शिखा बुक्सका संचालक पुष्पराज पौडेलले नेपाली साहित्यिक कृतिलाई अन्तराष्ट्रियकरण गर्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा आग्रह गरे ।

उक्त कथा संग्रह तमसुकको लोकार्पण कार्यक्रमको आयोजना शिखा बुक्स तथा अखिल नेपाल साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रमको संचालन गीता मैनालीले गरेकी थिइन् । शिखा बुक्सको प्रकाशन रहेको तमसुक ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्