एकताले ओली–प्रचण्ड मिल्दैनन् भन्ने भ्रम चिरिदियो : योगेश भट्टराई

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ०३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता योगेश भट्टराईले बितेको एक वर्ष नेकपा क्रियाशिल हुन नसकेको बताएका छन्।

उनले यो एक वर्षमा केही कमिकमजोरी भएपनि त्यो कार्यकर्ताबाट नभई शीर्ष नेतृत्वबाट भएको बताए। उनले भने, ‘जुन जिम्मेवारी थियो तलदेखि माथिसम्म मिलाउनु पर्ने, त्यो गर्न सकेनन्। जेठ तीन गते त हामीले केन्द्रीय कमिटी बनायौं, दुई अध्यक्ष बनायौं, स्थायी समिति बनायौं केन्द्रीय कमिटी बनायौं । त्यो बाहेक त केही पनि गरेनौं । हाम्रो एकता त डल्लै बाँकी थियो नि। केन्द्रीय निकायदेखि जिल्ला नेताहरुबीच एकता गर्न बाँकी थियो।’

यो कामलाई समयमै नेकपा नेतृत्वले पूरा गर्न नसकेको उनले बताए। उनले भने, ‘यो नेतृत्वको साह्रै ठूलो कमजोरी हो। जसले गर्दा नेकपाले पाएको उपलब्धिलाई राम्ररी प्रचार गर्न सकिएन।’ एक वर्ष नेकपा क्रियाशिल हुन नसक्दा त्यसले ठूलो असर परेको उनको भनाइ छ। यो एक वर्षको सबैभन्दा ठूलो अपूरणीय क्षति भएको उनले बताए।

उनले एक वर्ष कस्तो भयो भन्ने प्रश्न ज्यादै गम्भीर प्रश्न भएपनि यसले दुई वटा पार्टीबीचको सैद्धान्तिक, राजनीतिक मत भिन्नतालाई यो एक वर्षमा नेकपाले धेरै हदसम्म एकरुपतामा ढाल्ने काममा सफलता हासिल गरेको बताए। ‘त्यसो त यो एक वर्षमा प्राप्त भएका केही राम्रा पक्ष पनि छन्। राम्रो पक्ष के हो भने दुई वटा पार्टी एक भयो। यसले दुई वटा पार्टीबीचको सैद्धान्तिक, राजनीतिक मत भिन्नतालाई हामीले धेरै हदसम्म एकरुपतामा ढाल्ने काममा सफलता हासिल गर्यांै’ उनले भने, ‘दुईवटा अलग–अलग संस्कृति भएका पार्टी कार्यकर्ताहरुलाई एउटै कार्यशैलीमा ढाल्न एक वर्षमा केही न केही सफलता हामीले हासिल गर्यांै।’

उनले पार्टी एउटा भइसकेपछि सयौं हजारौं आयोजना भएका कार्यक्रममा एउटै मञ्चबाट बोलेको हुँदा यसले संस्कृतिमा पनि एकरुपता हुदैँ गएको बताए। उनले भने, ‘यो एक वर्ष हामीले एउटै पार्टी भएर सरकार चलाइरहेका छौँ।’ नेता भट्टराईले विगतमा भएको सरकारको अस्थिरतालाई अन्त्य गरी स्थायी सरकार ल्याएको बताउँदै यो एक वर्षले एउटा सकारात्मक सन्देश पनि दिएको बताए।

यस्तै उनले यो एक वर्षमा कम्युनिष्टहरु ज्यादा फुट्न जान्दछन् मिल्न जान्दैनन् भन्ने सन्देशलाई गलत साबित गरेको बताए। ‘कतिपय बुद्धिजीवीको भनाइ त यो एकता एक वर्ष पनि जाँदैन भन्ने थियो। प्रचण्ड र केपी ओली कहाँ मिल्छन् र नेपाल, प्रचण्ड कहाँ मिल्लान् र भन्ने थियो’ उनले भने, ‘तर यो एक वर्षमा विभाजन भन्दा एकतातिर उत्सुक भएका छौं भन्ने प्रष्ट भयो।’