सिन्धुपाल्चोक, ३ जेठ । सिन्धुपाल्चोकमा सुन चोरेको अभियोगमा एक प्रधानाध्यापक पक्राउ परेका छन्। अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो तीन बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताए। सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै उनलाई नियन्त्रणमा लिइएको घलेको भनाई छ । स्थानीयवासीको सहयोगमा चोरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो ।
अभियुक्त जोशी पटक–पटक विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिकाका शिक्षा शाखाका प्रमूख ज्ञानेन्द्र श्रेष्ठले बताए । जोशी कहिले स्कूल जाने त कहिले नजाने गरी काम गर्दै आएको र स्कूल जाँदा पनि मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेको भनाई छ । जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।