काठमाडौं, ३ जेठ। भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीले नरेन्द मोदि नेता नभइ अभिनेता भएको बताएकी छिन्। लोकसभा चुनावको अन्तिम चरणको मतदान आउन लाग्दा प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गरेकी हुन्।
शुक्रवार मिर्जापुरमा भाषण गर्दै उनले मोदी नेता नभई अभिनेता भएको बताइन्। संसारको सबभन्दा ठूलो अभिनेता भारतको प्रधानमन्त्री बनेको उनले भनिन्। उनले अमिताभ बच्चनलाई नै बरू प्रधानमन्त्री बनाएको भए हुन्थ्यो भनी टिप्पणी गरिन्।
केन्द्र सरकारमाथि टिप्पणी गर्दै प्रियंकाले भाजपाको उद्देश्य जसरी भए पनि सत्ता हात पार्नु रहेको बताइन्। मोदीले अघिल्लो लोकसभा चुनावमा गरेको वाचा पूरा नगरेको उनको आरोप छ। कांग्रेसले झूटो वाचा नगर्ने बरू किसान, गरीब र युवाहरूको हकमा काम गर्ने उनले बताइन्। प्रियंकाले भनिन्, ‘प्रधानमन्त्री देशका किसान, मजदूर र युवासमक्ष पाँच वर्षको विकास कार्यको हिसाब दिनै सकिरहेका छ्रैनन् सरकारले लोकतान्त्रिक संस्थाहरूलाई लगातार कमजोर बनाइरहेको छ। भाजपाका सबै दाबी बकवास हुन्। किसानहरूले फसलको दाम पाएका छैनन् अनि युवाहरूले रोजगारी पाएका छैनन्।’
भाजपाको सरकार हुँदा पाँच करोड रोजगारी कम भएको प्रियंकाको आरोप छ। कांग्रेसको सरकार बनेमा गरीबहरूको भविष्य चम्किने उनको दाबी छ। गरीबहरूलाई न्याय योजना अन्तर्गत ७२ हजार रुपैयाँ वर्षभरि दिइने उनले बताइन्।