चितवन, ५ जेठ। पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा शुक्रबार आगजनी भएको छ।
ढाटमा आगजनी गर्दा डिउटीमा खटिएकी महिला प्रहरी आगोले जलेर घाइते भएकी छिन्। घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई गिरफ्तार गरि अनुसन्धान गरिरहेको बेलामा थप एक जनालाई आइतबार बिहान पक्राउ गरेको छ।
पक्राउ पर्नेमा केपी लामिछाने रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। आइतबार विहान पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको छ। लामिछाने कृषि विकास बैंक कर्मचारी यूनियनका पूर्वअध्यक्षसमेत हुन्।
आगजनीको भिडियो हेरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। भरतपुरबाट टाँडीतर्फ जाने सडकको टिकौली जंगल छेउमा सडक बोर्ड नेपालको ढाट छ। यो ढाटले पूर्व जाने सवारी साधानहरुसँग रकम उठाउँदै आएको छ। भरतपुर आएर काम घर फर्किने पूर्वी चितवनवासीहरुलाई समेत यो ढाटले समस्यामा पार्दै आएको थियो।
आफ्नै जिल्लाभित्र सवारी लिएर हिड्दासमेत रकम बुझाउनुपर्ने बाध्यताले पूर्वी चितवनवासीलाई आक्रोशित बनाएको थियो । यसको बिरोध उद्योग बाणिज्य संघलगायतका निकायले गर्दै आएका पनि थिए।दुई दिनअघि मात्रै रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै ढाट हटाउन माग गरेका थिए।
शनिबार बिहान रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलाई पनि प्रहरीले पक्राउ गरि सोधपुछ गरि ९ बजेतिर छाडेका थिए। प्रजिअ बस्नेतले एक साताको समय अध्यक्ष रेग्मीसँग मागेका थिए। ज्ञापनपत्र बुझाएको दुई दिनपछि नै उनै रेग्मीसहित प्रदेशसभाका सांसद कृष्ण खनालको उपस्थितिमा ढाटमा आगजनी गरिएको हो।
सोही क्रममा डिउटीमा रहेकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छिन्।
चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) शुशिल सिंह राठौरले टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सांसदकै उपस्थितिमा अमानवीय कार्य भएको बताएका छन्। सांसद खनालले भने आफू घटनास्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको दावी गरेका छन्।
रत्ननगर उद्योग बाणिज्य संघले पनि घटनाको भत्र्सना गर्दै पक्राउ परेका रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीको रिहाइको माग गरेको छ।