बृहत आठौं राष्ट्रिय खेलकुद : नेपाल प्रहरीले जित्यो १५४ पदक

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ जेठ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले “बृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५” मा पदक विजेता नेपाल प्रहरीका खेलाडी तथा अफिसियलहरुलाई नगद पुरस्कार एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरेका छन्।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार, विज्ञान र प्रविधिमा विशेष योगदान र्पुयाउने प्रहरी हवल्दार पूर्ण बहादुर आलेलाई प्रशंसापत्र वितरण गरे।

राष्ट्रिय खेलकुदको सन्दर्भमा नेपाल प्रहरीका कर्मठ अग्रज एवं वर्तमान खेलाडीहरुको ठूलो योगदान रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा प्रहरी संगठनको प्रतिनिधित्व गर्दै विभिन्न पदक जितेर राष्ट्रिय सम्मान बढाउन संगठनमा आबद्ध खेलाडीहरुको योगदान अतुलनीय रहेको बताए। खेलकुदको क्षेत्रमा विकासमा चाहिने पूर्वाधार एवम् साधन श्रोतयुक्त बनाई खेल जगतमा भविष्य सुनिश्चित गरी खेलाडीहरुको व्यवसायिक जीवन र सामाजिक प्रतिष्ठा बढाउन नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताए।

हरेक खेलाडीले आफ्नो खेल स्तर बढाउनुका साथै व्यक्तिगत एवम् सामाजिक प्रतिष्ठा बढाउनका लागि समयको खोजी गर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी संगठन निस्वार्थ सेवाभावले काम गर्ने संगठन रहेको तथा प्रहरी संगठनले खेलाडीलाई दिने सेवा, सुविधा सम्बन्धमा नियमावलीमा आवश्यक सुधार गर्न कदमहरु चालिसकेको बताए। विगतमा केही राम्रा खेलाडी पलायन समेत भएकोमा अबका दिनमा त्यो अवस्था आउन नदिने समेत उनले उल्लेख गरे।

सम्पूर्ण खेलाडीहरु राष्ट्रका गहना भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक प्रतिष्ठा एवम् राष्ट्रिय पहिचान कायम गर्न खेलाडीहरुले ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। आउँदा दिनमा हुने प्रतियोगितामा पनि उच्च प्रदर्शन गर्दै सफलता हासिल गर्न उपस्थित खेलाडीहरुलाई उनले निर्देशन दिए।

जहाँ राज्यका नागरिक स्वस्थ्य हुन्छन् त्यहाँ आपराधिक घटना कमी हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले देशका युवा वर्गलाई खेल जगतमा आबद्ध गराउन सकेमा मानसिक एवम् शरीरिक रुपमा सबल हुनुका साथै ती युवावर्ग आपराधिक क्रियाकलापमा संलग्न नहुने बताए। जसअनुरुप नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गर्दै सबै प्रदेश र विशेष गरी पहिलो चरणमा राजमार्गस्थित क्षेत्रमा खेलको विकास गर्ने सोचका साथ नेपाल प्रहरी आगाडी बढेको उनले बताए।

समारोहमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै २०७५ चैत्र २७ गतेदेखि २०७६ वैशाख ११ गतेसम्म ५ नम्बर प्रदेशका विभिन्न जिल्ला तथा ललितपुरमा संचालित उक्त प्रतियोगितामा नेपाल प्रहरीकोतर्फका खेलाडीहरुले ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १ सय ५४ पदक प्राप्त गरी द्वितीय स्थान हासिल गर्न सफल भएको जानकारी गराए।

साथै नेपाल प्रहरी खेलकुद जगतमा अग्रणी निकाय रहेको चर्चा गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाई राष्ट्रको खेल विकास र संगठनको मान प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा र्पुयाउन प्रहरीले योगदान दिएको उनले उल्लेख गरे।

विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र कास्य पदक विजेतालाई २ हजार रुपैयाँ प्रदान गरिएको छ भने विभिन्न खेलहरुमा राष्ट्रिय किर्तिमान राख्न सफल १५ जना खेलाडीहरुलाई जनही थप नगद ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ हजार ६ सय ८८ पदको लागि नेपाल प्रहरीको तर्फबाट २४ खेलमा २ सय १७ पुरुष, १ सय ५२ महिला र ८७ जना अफिसियल गरी कूल ४ सय ५६ जनाले सहभागी रहेका थिए । सो अवसरमा नेपाल प्रहरीले विगतदेखि वर्तमानसम्म संचालन गरेका विभिन्न खेलकुद गतिविधि झल्कने भिडियो डिस्प्ले समेत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, संचारकर्मी, नेपाल प्रहरीमा आवद्ध खेलाडीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्