नयाँ सरकार गठनको तयारीमा माेदी

modi2
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ११ जेठ। सत्तारुढ दल भाजपाले अत्यधिक मतका साथ जित हासिल गरेपछि मोदीले नयाँ सरकार गठनको तयारी थालेका छन्। भारतको लोकसभा निर्वाचनको सम्पूर्ण परिणाम अनुसार सत्तारुढ भाजपा अत्यधिक मतका साथ विजयी भएको हो।

अन्तिम निर्वाचन परिणाम आएपछि राजधानी नयाँ दिल्लीमा भाजपाको केन्द्रीय कमिटिको वैठक बसेको थियो। त्यस्तै केन्द्रीय मन्त्रिपरिषद् वैठकले १६औं लोकसभालाई भंग गर्ने प्रस्ताव पारित गरिसकेको छ।
शुक्रबार साँझ भएको क्याविनेट वैठकमा विदेश मन्त्री सुष्मा स्वराज, रेल मन्त्री पीयूष गोयलका अतिरिक्त सम्पूर्ण नेता सामेल भए।

बैठकमा स्वास्थ खराब भएका कारण अर्थमन्त्री अरुण जेट्ली भने सहभागी भएका थिएनन्। तथापि उनको घरमा पनि एक वैठक बसेको थियो। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटेर आफ्नो र सम्पूर्ण क्याविनेटको राजीनामा दिएका छन्। केन्द्रीय क्याविनेटको सम्मानमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज राष्ट्रपति भवनमा भोजको आयोजना गरे।

राष्ट्रपति भवनको भोजनमा प्रधानमन्त्री मोदी र एनडीए क्याविनेटका सबै मन्त्री उपस्थित थिए। १६औं लोकसभा भंग गर्ने र क्याविनेटको राजिनामा प्रस्तुत भएसँगै भारतको केन्द्रमा नयाँ सरकार बनाउन प्रक्रिया सुरु भएको छ। स्पष्ट बहुमत पाएको आधारमा यस प्रक्रियाको हकदार भाजपा हो।

वर्तमान लोकसभाको समयावधी जुन ३ मा समाप्त हुँदैछ। यसपछि नयाँ लोकसभाले काम सुरु गर्नेछ। नयाँ लोकसभाको गठनको लागि चुनाव आयुक्त राष्ट्रपतिसँग भेटघाट गर्नेछन् र नव निर्वाचित उमेद्वारीको सुचि प्रस्तुत गर्नेछन्।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ भाजपा नेता लालकृष्ठ आडवाणी र मुरली मनोहर जोशीसँग भेटघाट गरेर आशीर्वाद लिएका छन्। यस भेटमा भाजपा अध्यक्ष अमित शाह पनि उपस्थित थिए। भेटपछि मोदीले ट्वीट गर्दै आणवाणीलाई दशकौंको सघर्षमार्फत भाजपालाई आजको अवस्थामा ल्याएको श्रेय दिएका छन् भने जोशीलाई महान वौद्धक बताएका छन्।

स्रोतका अनुसार मे ३० सम्ममा प्रधानमन्त्री मोदीले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्न सक्छन्। सुत्रका अनुसार पछिल्लो पटकजस्तै यो पटक पनि साँझ ४ देखि ५ बीचमा शपथ ग्रहण हुन सक्छ। त्यस अघि मोदी मे २८ मा उनको निर्वाचन क्षेत्र काशी गएर धन्यवाद सभालाई सम्बोधन गर्ने र आमालाई भेट्ने सम्भावना पनि बताईएको छ।

अघिल्लो पटकजस्तै यो पटकको शपथ ग्रहणमा छिमेकी देशका नेतालाई आमन्त्रण गरिने नगरिने हालसम्म स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्