काठमाडौं, १२ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन्। उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलनमा भाग लिन आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ,मन्त्रीहरुलगायतले विदाई गरेका थिए। त्यस अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण समेत गरेको थियो।
उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। त्यसैगरी उनले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहेका छन्। उपराष्ट्रपति पुन आगामी जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।