खानेपानी संरचना निर्माणमा गति दिँदै आयोजना कार्यान्वयन निर्देशनालय

kuki- pid
लाेकपाटी न्यूज

काठमाडौं, १४ कार्तिक । खानेपानीका संरचनाहरुको निर्माण कार्यलाई आयोजना कार्यान्वयन निर्देशनालयले गति दिँदै आएको छ। सबै जनतालाई खानेपानीको पहुँचमा छिटोभन्दा छिटो पुर्याउने लक्ष्यका साथ निर्देशनालयले खानेपानी संरचनाको निर्माणको कामलाई गति दिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट प्राप्त अध्यावधिक तथ्याङ्क अनुसार उपत्यकामा हाल खानेपानीको माग ४५ करोड लिटर प्रतिदिन रहेकोमा सुख्खा याममा प्रतिदिन ९ करोड लिटर र वर्षा याममा १६ करोड लिटर मात्र वितरण गर्न सकिएको अवस्था रहेको छ ।

उपत्यकामा देखिएको खानेपानीको अभाव कम गर्न काठमाडांै उपत्यका खानेपानी सुधार आयोजना शुरू गरिएको हो । यस आयोजनाले भरपर्दो, दिगो र न्यायोचित वितरण प्रणाली निर्माणका साथै उपत्यकाको खानेपानी क्षेत्रको संस्थागत क्षमता र संचालनमा सुधार गरी खानेपानी समस्या न्युनीकरणमा केन्द्रित प्रयासहरूलाई प्रभावकारी बनाउने अपेक्षा राखिएको छ ।

नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा हाल सञ्चालनमा रहेका आयोजनाहरू अन्तर्गत स्रोत संवद्र्धन, मेलम्ची सुरूङ र पानी प्रशोधन, भण्डारण, खानेपानी वितरणका साथै वितरण प्रणालीको क्षमता र सेवा प्रवाहको गुणस्तर वृद्धि एवं संस्थागत क्षमता अभिवृद्धि लगायतका कार्यहरू भइरहेका छन् ।

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत चक्रपथ बाहिरका मण्डिखाटार, जोरपाटी, चाबहिल, बौद्ध, पेप्सीकोला, मध्यपुर ठिमी, भक्तपुर र कीर्तिपुर लगायतका क्षेत्रहरूमा वितरण सञ्जाल सुधारको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ ।

यसका साथै नेपाल सरकारको आफ्नै स्रोतबाट सुर्यविनायक नगरपालिकाका अधिकांश क्षेत्र समेट्ने गरी खानेपानी पाइपलाइन विस्तार गर्नको लागि डिपिआर तयार भइरहेको छ। त्यस्तै महालक्ष्मी नगरपालिकाका वडा नं १, २, ३, ४, ललितपुर महानगरपालिकाका ग्वार्को, सैंबु, भैँसेपाटी, खुमलटार, नख्खीपोट, ढोलाहिटी, सुनाकोठी र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ६ र ७ मा वितरण सञ्जाल सुधार अन्तर्गत खानेपानीको पाइपलाइन बिछ्याउने सम्बन्धमा डिजाइनको कार्य भइरहेको जनाइएको छ ।

काठमाडाैं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत थोक वितरण प्रणाली (Bulk Distribution System) र पानीपोखरीहरू (Service Reservoir Tanks) को निर्माणका साथै वितरण संजाल सुधार (Distribution Network Improvement) को कार्य भइरहेको छ ।

थोक वितरण प्रणाली अन्तर्गतको करिब ७६ कि.मि. लामो पाइपलाइनमार्फत् सुन्दरीजलमा प्रशोधन गरिएको पानी उपत्यकाका ९ स्थान – आरूबारी, महाँकाल, बाँसबारी, पानीपोखरी, बालाजु, महाराजगंज, खुमलटार, कीर्तिपुर, कटुञ्जे र टिग्नीमा निर्माणाधीन १० ठुला पोखरीहरू (कुल भण्डारण क्षमता ७४, ५०० घनमिटर) मा जम्मा गरी साना पाइपहरूमार्फत् वितरण गरिनेछ ।

हाल ७६ कि.मी.पाइपमध्ये करिब ७४ कि.मी.बिछ्याइसकिएको छ भने ९ ठूला पोखरीहरूको निर्माण सम्पन्न भइसकेको छ। यी पोखरीहरूमा खानेपानी संकलन गरी वितरण संजाल सुधार अन्तर्गतका साना पाइपहरूमार्फत् उपभोक्ताका घरघरमा वितरण गरिनेछ। अहिलेसम्म वितरण संजाल सुधारको ठेक्का प्याकेज १, २ ३ र ४ अन्तर्गत करिब १,००० कि.मि. पाइप बिछ्याउनुपर्नेमा ८५३ कि.मी. बिछ्याइसकिएको छ, १,१०,६७९ घरधुरीमा धारा जडान गर्नुपर्नेमा ६५,१५१ घरधुरीमा जडान गरिसकिएको छ।

थोक वितरण प्रणालीको ७६ कि.मि. पाइपमध्ये करिब २८ कि.मि.को flushing & testing (खानेपानीको नयाँ पाइपलाइन सफाइ र परीक्षण कार्य) गर्ने कार्य सम्पन्न भएको छ। कूल ११० कि.मि सडक पुर्नस्थापन गर्नुपर्नेमा करिब ३४ कि.मि. पुर्नस्थापन भइसकेको छ।

मेलम्ची आयोजनाको पहिलो चरणमा चक्रपथभित्र पाइपलाइन विस्तारको कार्य भइरहेको छ, दोस्रो चरणमा उपत्यका बाहिर पाइपलाइन बिस्तार गर्ने योजना रहेको छ । DNI-7B (बालाजु, कलंकीबाट उत्तरतर्फ छाउनी, स्वयंभू आदि ) र DNI-7C (महाराजगंज, धुम्बाराही, बालुवाटार, लाजिम्पाट, लैनचौर, सामाखुशी, वसुन्धरा आदि) क्षेत्रभित्र Horizontal Directional Drilling (HDD) method प्रयोग गरी पाइपलाइन बिछ्याउने कार्य निकट भविष्यमा हुन गइरहेको छ। यो नयाँ प्रविधिको प्रयोग गरी पाइपलाइन बिछ्याउँदा बाटो खन्ने, पुर्ने कार्य न्युनतम मात्र गर्नुपर्ने, निर्माण कार्य छिटो हुने र धूवाँ, धुलो कम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्