आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

budget Nepal
लाेकपाटी न्यूज

काठमाडौं, १४ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ ।

चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा सरकारले एक बर्षमै एक व्यक्तिको आम्दानी ८६ डलरले बढाउने महत्वकाँक्षी योजना बजेटमार्फत ल्याउँदैछ ।

योजना आयोगका सदस्य डा.रामकुमार फुयालले ६० वटा सूचकाङ्कलाई आधार मानेर बजेट ल्याउन लागेको बताए । चालू वर्ष ७ प्रतिशतको आर्थिक बृद्धिदर रहने अनुमान सरकारले गरेको छ तर आगामी बर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरलाई फोकस गरेर बजेट आउने फुयालले बताए ।

यसैगरी व्यक्तिको औसत आयू ७०.५ वर्ष पुर्याउने बजेटकोमा उल्लेख हुनेछ । अहिले ७०.१ वर्ष अपेक्षित आयु छ । यसैगरी आगामी बजेटले सडक कालोपत्रेलाई पनि व्यापकता दिँदैछ । अहिले कालोपत्रे भएको सडक ८ हजार ३ सय १६ किलोमिटर छ । यसलाई एक बर्षमा ९ हजार ६ सय ५० किलोमिटर पुर्याउने बजेटको नीति हुनेछ । यता विद्युतको पहुँच विस्तारमा पनि बजेटले जोड दिँदैछ । आगामी बर्षसम्म विद्युतको पहुँच प्राप्त परिवार ९३.५ प्रतिशत बनाउने लक्ष्य बजेटले अघि सार्दैछ ।

यस्तै निरपेक्ष गरीबीलाई एक बर्षमा १६.१ प्रतिशतमा झारिसक्ने गरी बजेटले सम्बोधन गर्नेछ । यता राष्ट्रिय परिचयपत्र प्राप्त नेपालका नेपाली नागरिक ३० प्रतिशत पुर्याउने उच्च आकांक्षी योजना बजेटले ल्याउँदैछ । अहिले यस्तो नागरिकको संख्या १० प्रतिशत छ । यस्तै आगामी वर्ष श्रम उत्पादकत्व २१५ डलर हुनेछ । अहिले १९९.८ डलर छ । बेरोजगारीलाई कम गर्न बजेटको फोकस हुनेछ । बजेटले आगामी वर्ष बेरोजगारीदर ९.६ प्रतिशतमा झार्ने गरी प्रस्तुत हुँदैछ ।

यसैगरी यस आगामी बजेटमा वृद्धभत्ता एक हजार रुपैयाँ बढाउने, कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने देखिएको छ। यता कर्मचारीको तलब पनि १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी भएको ती अधिकारीले बताए ।

यस आधारमा पनि समाजिक सुरक्षा खर्च आगामी बर्ष १२.१ प्रतिशत हुने ती अधिकारीले बताए । अहिले सामाजिक सुरक्षा खर्च ११.७ प्रतिशत छ ।

सरकारका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार साँझ ४ बजे संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेट पेश गर्दैछन् । बजेट १५ खर्ब देखि साढे १५ खर्बसम्म आउने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्