काठमाडौं, १५ जेठ । अन्ततः कतारले नेपालमा भिसा सेन्टर खोल्ने भएको छ। यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन्। भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप लगाएका छन्।
यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले ‘कतार भिसा सेन्टर’ खोल्न नदिने बताएका थिए।
उनले यसले सिन्डिकेट कायम हुने र कामदार माथि विभिन्न बाहनामा शुल्क अशुल्न हुन सक्ने भन्दै विरोध जनाएका थिए। तर, कतार सरकार र भिसा सेन्टर खोल्न लागि परेका नेपाली व्यवसायीको दबावमा सरकारले भिसा सेन्टर खोल्न अनुमति दिएको छ।
व्यवसायीले यसलाई राजनीतिक र नीतिगत रुपमा भएको चलेखेल भनेका छन्। बुधबारबाट नै कतारले आफ्नो भिसा सेन्टर सञ्चालनमा ल्याउन लागेको जानकारी व्यवसायीले पाएका छन्। उसले कतार जाने कामदारको बायोमेट्रिक लिने र स्वास्थ्य परीक्षणलाई विश्वासनीय बनाउने गरी काम गर्ने बताइएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले यस्तो सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले सहमति दिएको भन्दै राजीनामा घोषणा गरेका छन्। ‘हाम्रो अथक प्रयासका बाबजुद पनि भिसा सेन्टर खुल्यो, त्यसैले संघमा रहिरन नैतिक संकट भयो, हिजो पनि माइग्रामका नाममा मलेसियाको सिन्डिकेट यसै गरी नेपाल भित्र्याइएको थियो।
सुरुमा एक रुपैयाँ पनि शुल्क नलिने भन्दै भित्र्याएर पछि आर्थिक भार थोपार्ने पुरानो प्रवृत्ति हो,’ उनले भने,’यस्तो सिन्डिकेटविरुद्ध लडेका सरकारले अहिले केका आधारमा अनुमति दियो भन्ने प्रश्न जन्मिएको छ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भिसा सेन्टरले विदेशिने कामदारसँग एक रुपैयाँ पनि शुल्क नलिने र कुनै प्रकारको सिन्डिकेट कायम नगर्ने प्रतिवद्धता गरेको छ।
तर, व्यवसायीहरु भने सीमित व्यवसायीलाई मात्रै कतारमा कामदार आपूर्ति गर्न दिने योजनसहित यो सेन्टर खुलाइएको दावी गर्छन्। संघका अध्यक्ष रोहन गुरुङ हाल शुल्क नलिने र सिन्डिकेट कायम नगर्ने कुरा सकिएको बताउँछन्।‘यदि सीमित मेडिकल सेन्टर र म्यानपावर व्यवसायीलाई मात्रै कतारको कामदार आपूर्ति प्रक्रियामा राखेर सिन्डिकेट लादियो भने हामी कतारको दूतावास घेराउ गर्छौं,’ अध्यक्ष गुरुङले भने,’कामदार र व्यवसायीलाई एक रुपैयाँ पनि भार भिसा सेन्टरबाट पर्नु हुँदैन।’
उनले भिसा सेन्टर खोल्न हेम गुरुङ लगायत व्यवसायी सक्रिय भएको सुनेको बताए। ‘हामीलाई यसबारे कुनै औपचारिक जानकारी कसैले दिएको छैन,’ गुरुङले भने। कतारले विभिन्न देशमा भिसा सेन्टर खोलेको छ। नेपालमा खोल्न एक वर्षदेखि उसले प्रयास गरेपनि कामदार मलेसिया पठाउने प्रक्रियामा लादिएको सिन्डिकेट विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले कडा कदम चालेपछि अन्योल भएको थियो।
श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कतार सरकारलाई भिसा सेन्टर नखोल्न भन्दै पत्राचार नै गरेको थियो। तर, मलेसियाको सिन्डिकेटको टुंगो नलाग्दै कतारलाई पनि त्यस्तै प्रक्रियमा सजिलै प्रवेश दिइएको छ। यसले सरकारको भनाइ र गराइमा कति फरक छ भन्ने देखाएको व्यवसायी बताउँछन्।
कतार दूतावासका एक अधिकारी भने यो सेन्टर कुनै सिन्डिकेट लाद्ने गरी नल्याएको बताउँछन्। कतार जाने नेपाली नागरिकका लागि सलिलो होस् भने एकै स्थानबाट सेवा दिने गरी सेन्टर सञ्चालनमा ल्याइएको उनको दावी छ।‘यो मलेसिया वा अरु देशको जस्तो संयन्त्र हैन, यसले कामदारलाई नै सजिलो गराउँछ, विदशेमा गाएर मेडिकल अनफिट भएर फर्किहाल्नुपर्ने र आपाराधिक रेकर्ड भएका नागरिक कतार पुग्ने अवस्था हटाउँछ, उनी भन्छन्।
सेन्टरमा भिसा, स्वास्थ्य परीक्षण र कामदारको बायोमेट्रिक, बिमा लगायतका सेवाका प्रक्रिया पुरा गरिनेछ। कामदारको सक्कली करारपत्र प्राप्त गर्ने प्रक्रिया पनि यहीँ हुनेछ। यसअघि कतारमा गएर पुरा गर्नुपर्ने प्रक्रिया यही पुरा हुने भएकाले कतार पुग्नासाथै परिचपत्र प्राप्त हुने बताइएको छ। यसले भिसा प्रक्रिया सरलीकरण हुने बताइएको छ।
श्रम मन्त्रालयले गत वैशाख २९ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कतार भिसा सेन्टरवाट नेपाली कामदारहरुले कतार जान पूरा गर्नु पर्ने प्रकृयाहरु थम्ब्स प्रिन्ट, बायोमट्रिक डाटा, हेल्थ प्रोसिड्योर, वर्क कन्ट्याक्ट, एटेस्टेसन र भिसा प्रोसेसिङ चार्जकोको लागत एवं शुल्क रोजगारदाताले व्यहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था गर्न भनेको थियो।
शुल्क तथा लागत रोजगारदाताले नै व्यहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्थाको प्रत्याभुत हुन आवश्यक रहेको पत्रमा उल्लेख थियो। यो व्यवस्था सुनिश्चित हुनेगरी कतार भिसा सेन्टर सम्वन्धी आवश्यक निर्णय प्रचलित कानून वमोजिम साधिकार निकायबाट नै हुन उपयुक्त हुने पत्रमा उल्लेख थियो। त्यस अनुसार नै परराष्ट्रले कतारलाई भिसा सेन्टर खोल्न अनुमति दएको हो।