अब बारुदको गन्ध आवश्यक छैन : सञ्चारमन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर दिएको बताए। उनले गणतन्त्रले सबैलाई समान अवसर दिएकोले अब बारुदको गन्ध आवश्यक नभएको बताए।

१२ औँ गणतन्त्र दिवसको अघिल्लो दिन मंगलबार रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। मन्त्री बाँस्कोटाले भने, ‘हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता मालिक भएकाले जनताका अगाडि बन्दूक केही होइन।’ बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गरी देशलाई प्रगति गरेको भन्दै उनले भने, ‘रातारात मुलुक बन्दैन। आर्थिक परिवर्तनभन्दा सामाजिक र सांस्कृतिक परिवर्तन कठिन भएकाले त्यतै जानुपर्छ।’

मन्त्री बाँस्कोटाले जननिर्वाचित सरकारले गणतन्त्रलाई संस्थागत गरी समृद्धिको आधार बनाएकाले सरकार असफल भए को आउने भन्ने स्पष्ट हुनुपर्ने बताए। गत एक वर्षमा सरकारले संविधानअनुकूल कानून र संरचना निर्माण गरेकाले अबको योजना समृद्धितर्फ हुने उनले उल्लेख गरे।

उनले भने, जनताको ‘रगत, आँशु र पसिना साटिएर आएको गणतन्त्र कसैले दिएको उपहार होइन। अब मुलुकलाई अन्तर्राष्ट्रिय मानकसँग गाँस्न आवश्यक छ। अब कोही जनता भोकै बस्नु पर्दैन। कृषिमा क्रान्ति गरेर समृद्धिमा लाग्नुपर्छ।’