विप्लवका छोरा प्रकाश चन्द भन्छन्, ‘डाक्टरीभन्दा देशको मुक्ति ठूलो हो’

prakas chand pic
लाेकपाटी न्यूज

काठमाडौं। केही समययता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ।

सो पार्टीका अधिकांश नेता आजकल लगभग भूमिगत रहेका छन्। उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने अहिले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका छन्।

प्रकाश चन्द उक्त पार्टीको स्वास्थ्य संगठनको केन्द्रीय महासचिव पनि रहेका छन्।उनलाई चाहिँ उनको बुवाको नेतृत्वमा रहेको संगठनले गरेका गतिविधि कस्तो लाग्दैछ ? उनीसँग यसै साता बिबिसीका चितवनस्थित सम्वाददाता ईश्वर जोशीले गरेको कुराकानी सान्दर्भिक लागेर यहाँ उल्लेख गरेका छौं।

तपाईले डाक्टरी किन पढ्नुभएको ?

यो धेरै पूरानो र पहिलेको कुरासँग जोडिएको छ। बाल्यकालसँग पनि जोडिएको छ। १० वर्षे द्वन्द्वकालमा देखेको चित्र र म आफैँले भोगेको पीडा पनि छ। त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको बलिदानी र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्षतिको कुरा पनि छ। यिनै विषयले मलाई कता कता प्रोत्साहन पनि दियो र पढ्नुपर्छ भन्ने मलाई त्यतिखेर नै लागेको थियो। हामीले ठूलो क्षति बेहोरेका थियौँ। त्यतिखेर युद्धमा लाग्ने जनमुक्ति सेनालाई स्वास्थ्य उपचारको सामान्य भन्दा सामान्य विषय नजान्दा धेरै क्षति भएको थियो। त्यसलाई कहिँ न कहिँ हल गर्न सकिन्छ भन्ने हिसाबले मलाई लाग्थ्यो र मैले बुवासँग पनि छलफल गरिराख्थेँ। त्यही सिलसिलामा कता कताबाट मिलेर आयो र डाक्टरी पढियो।

पढेर के गर्ने विचार छ ?

यसमा धेरै ठूलो इच्छा र आकांक्षा केही पनि छैन। यसमा मेरो दुईवटा योजना छ। ९५ प्रतिशत के छ भने मेरो तन मन सबै अब नेपालको एकीकृत जनक्रान्तिमा छ। हामीहरूले कसरी हुन्छ मैदानमा नेतृत्व गर्ने गरी जोश र जाँगरसहित अगाडि आउनुपर्छ र पहिलाको हाम्रो जुन क्षति थियो त्यसलाई रोक्नुपर्छ भन्ने नै उद्देश्य अहिले छ। कुनै कारणले त्यो भएन भने एउटा व्यावसायिक जीवनमा फर्कनुपर्ने पनि हुन सक्छ। यही दुईवटा कुराको सेरोफेरोमा नै रहेर अगाडि बढ्छु।

तपाईका बुवा नेत्रविक्रम चन्द ‘विप्लव’ निकै चर्चामा हुनुहुन्छ। अहिले तपाई उहाँको बारेमा के भन्नुहुन्छ ?

व्यक्तिगत र भावनात्मक हिसाबले भन्नुपर्दा तपाई जहाँ भए पनि सुरक्षित हुनुस् र आफ्नो स्वास्थ्यको ख्याल गर्नुस् भन्ने भइहाल्यो। त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने अहिले उठाएको क्रान्तिको जुन लाइन छ त्यसलाई छाड्नु हुँदैन। हिजो १० वर्षको जुन पीडा भोगेका छौँ त्यसलाई भुलाउने गरी, विजयको झण्डा लहराउने गरी अनि हजारौँ शहीदहरूको सपना पूरा गर्ने गरी क्रान्तिको मार्गदर्शन नछाड्नुस् भन्ने हो। जस्तो किसिमको बलिदानी दिन पनि हामी तयार छौँ।

बुवासँग कुराकानी नियमित हुन्छ ?

अहिले यो प्रश्न त्यति जायज भएन। अहिले जुन परिवेश र हिसाबले राजनीति अगाडि बढिरहेको छ, यो बेला यो प्रश्न त्यति सुहाउँदैन। मैले तपाईलाई हुन्छ भनेँ भने त्यो उत्तर पनि सही नहुन सक्छ, र हुँदै हुँदैन भन्ने पनि होइन।

बुवाले तपाईलाई के भन्नुहुन्छ, अथवा यो गर त्यो नगर भन्ने के सुझाव दिने गर्नुहुन्छ ?

बुवा छोराको सम्बन्ध भइसकेपछि बुवाले छोरालाई गर्ने मार्गनिर्देशन सधैँभरि गरिरहेको हुन्छ। व्यक्तिगत रूपमा यो नगर त्यो नगर भन्नुभन्दा पनि आन्दोलन र संघर्षसँग सम्बन्धित योजना र अरू कार्यक्रमहरूको विषयमा बढी छलफल हुन्छ।

तपाई जस्ता मान्छेलाई अब तपाईको बुवाको आह्वानमा मार्न र मर्न पनि हिचकिचाउन नहुने स्थिति आइपर्न सक्छ। तपाई मान्छे बचाउने पेशामा लाग्ने तरखरमा हुनुहुन्छ। कुरा नमिले जस्तो लाग्दैन ?

कुनै पनि पेशा राम्रो वा नराम्रो भन्नुभन्दा त्यो पेशालाई तपाईले कसरी अगाडि बढाउनु हुन्छ र कसरी आफ्नो जीवनमा ढाल्नु हुन्छ भन्ने कुरा हो। मैले कहिले पनि मान्छे मार्नुपर्छ वा हाम्रो पार्टीको महासचिवले पनि त्यसो गर्नुपर्छ भनेर कसैले पनि गरेको छैन। डाक्टरले मान्छे बचाउनुपर्छ मात्र भन्नु भन्दा पनि अहिलेको परिस्थितिमा डाक्टरले के गर्दा चाहिँ राष्ट्रमा शान्ति कायम हुन्छ वा कसरी समृद्ध हुन्छ, अनि पूँजीवादी दलाल व्यवस्थाबाट तपाई हामी कसरी स्वतन्त्र हुन्छौँ, अन्तराष्ट्रिय शक्तिबाट हामी कसरी स्वतन्त्र हुन्छौँ भन्ने कुरामा हाम्रो जोड बल भएको कारण हाम्रो ध्यान त्यता हुने भइहाल्यो।

कसैले संघर्षमा दुस्मनलाई प्रतिवाद गर्दै जाँदा भवितव्यले केही घटना पनि हुन सक्छ। त्यसबाट हामी जोगिने जोगाउने कुरा भइहाल्यो। तर, मर्न नै पर्छ भन्ने कुरा हाम्रो पनि छैन। पेशाको हिसाबले पनि मान्छे बचाउनुपर्छ भन्दै गर्दा म त्यहाँ पनि मान्छे बचाउन नै जाने हो। मेरो बाल्यकालदेखिको सपना पनि त्यही हो। अबका क्रान्तिहरूमा मैले प्रत्यक्ष भाग लिन पाइयोस् र कोही पनि त्यस्ता स्वतन्त्रता सेनानीहरूले अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने मेरो भित्री आत्मादेखिको चाहना हो।

बुर्जुवा शिक्षा भनेर आलोचना गर्ने तर आफ्ना छोराछोरीलाई त्यही शिक्षा दिलाउने अनि जनताका छोराछोरीलाई मर्न पठाउने भनेर आलोचना हुने गरेको छ नि तपाईको बुवाको ?

आलोचना गर्नका लागि गरिने विषयहरुमा हाम्रो भन्नु केही छैन। तर, हाम्रो बाल्यकाल हेर्नुस्, हामी कस्तो खालको भोगाइबाट गुज्रिएका छौँ र कस्तो खालको शिक्षादिक्षाबाट अगाडि बढेका छौँ भन्ने कुरा सबै युवाले बुझ्न जरूरी छ। मेरो बाल्यकालको कुरा गर्ने हो भने रोल्पाको बमबारी र बारुदभित्र गुजारेका ती रातहरू, आँखै अगाडि रक्ताम्मे भएर ढल्दै गरेका लाशहरू अनि मेरै बुवाको मरेको भन्ने चिठ्ठी पढ्दाखेरीको मेरा भावनाका कुराहरू, यी सबै कुरा जोडीएर आउँछन्। यहाँ कसैले बुर्जुवा शिक्षा पढ वा नपढ भन्ने भन्दा पनि शिक्षा लिने कुरामा बुर्जुवा होस् वा जे होस् लिने कुरा ठूलो हो त्यसैले अहिले शिक्षा लिने मौका छ लिनुपर्छ भन्ने हो।

अहिले जुन विषय आएका छन् आफ्ना छोराछोरी पढाउने अरूको छोराछोरी मार्न लगाउने भन्ने कुरा पनि आउँछ। खास विषय त्यो होइन। हामी पनि वा म पनि क्रान्तिको मैदानमा हुनेछु। आज म एमबीबीएस पढ्दै छु। भोलि वातावरण बिग्रदै गएको अवस्थामा म तुरुन्तै हिँड्न तयार छु। क्रान्तिको लागि कसले कहाँबाट बलिदानी दिने भन्ने कुरा हो। त्यसका लागि हामी सधैँ तयार छौँ।

बुवा राजनीतिक मूलधारमा आइदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?

यही धारमा यही अवस्थामा मूलधारमा आउनु हुँदैन। विप्लवले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ त्यो कुरा। पारिवारिक हिसाबले मेरो बुवा भए पनि यो तीन करोड नेपाली जनताको मुक्ति कि मृत्यु भन्ने विषय बनिसक्यो।

तपाई जस्तो डाक्टर पढ्न ठूलो रकम आवश्यक पर्छ। तपाईको खर्च कहाँबाट जुट्छ ?

यसमा धेरै साथीहरूको पनि सहयोग रहेको छ। सीएमसी कलेजले हाम्रो अनुरोधमा धेरै खर्च लिएको छैन। हाम्रो परिवार डाक्टरी पढ्नै नसक्ने, मोटरसाइकल चढेर हिँड्न नसक्ने, राम्रो लुगा लगाउनै नसक्ने खालको परिवार पनि होइन। हामी ठकुरी खानदान भएको हिसाबले पनि लाहुरे परिवारको पृष्ठभूमि छ। त्यसकारणले गर्दा डाक्टरी पढ्नै नसक्ने विषय होइन। हाम्रो परिवारको जुन स्थिति छ त्योभन्दा निकै तल गएर हामीले हाम्रो बालापन बिताएका छौँ।

तपाई महँगो मोटर साइकलमा चढ्नुहुन्छ भनेर आलोचना हुने गरेको छ। आम्दानीको श्रोत के हो ?

त्यो विषय कहाँबाट आयो भन्ने कुरा बुझ्न जरूरी हुन्छ। जुन ‘हार्ले डेभिडसन’ मोटरसाइकलको कुरा हो, काठमाण्डुमा सामान्य पार्किङ्ग गरी राखेको अवस्थामा मैले चढेर फोटो खिचेर सामाजिक सञ्जालमा हालेको थिएँ। त्यो आजको कुरा पनि होइन, करिब २–३ वर्ष अगाडिको कुरा हो। केही मिडिया र केही सामाजिक सन्जालका समूहहरूले यसलाई ठूलो विषय बनाएर, मसला हालेर, रङ्गरोगन गरेर अगाडि ल्याएपछि आलोचना त हुने नै भयो। त्यो (मोटरसाइकल) मेरो पनि होइन।

वर्तमान राजनितिक परिवेशलाई कसरी हेर्नुहुन्छ ?

यो राजनीति धेरै टिक्ने वाला छैन। हामी माथि जुन हिसाबले प्रतिबन्ध लगाउने, युद्ध थोपर्ने र अनावश्यक रूपमा उत्तेजित गर्ने प्रपञ्च भइराखेका छन्, उनीहरूले खनेको खाल्डोमा उनीहरू नै पर्नेछन्।