काठमाडौं, २२ जेठ । विद्यार्थीले डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने भएको छ। दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ। वनस्पतिहरु नासिँदैछन्।
वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ। यसै क्रममा एउटा देश फिलिपिन्सले वनजंगल बढाउन तथा पर्यावरण जोगाउन गज्जबको उपाय अपनाएको छ। फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रुपमा कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ।
तिव्र वनविनासका कारण देशको वनक्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको हो। यो कानून लागू गरेसँगै देशमा एक वर्षमा साढे १७ करोड वृक्षारोपण गर्ने तथा ती विरुवा हुर्काउने योजना सरकारको रहेको छ। विद्यार्थीहरुले स्नातक तहको पढाई पूरा गरेर तथा परीक्षा पास गरेर मात्रै सर्टिफिकेट पाउने छैनन्। उनीहरुले परीक्षा पास गरेसँगै कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ।
यो नयाँ कानूनको नाम ग्राजुएसन लिगेसी फर द इन्भारोन्मेन्ट ऐन रहेको छ। फिलिपिन्सको संसदले सर्वसम्मतिले उक्त कानून पारित गरेको छ। यो नियम कलेजमा मात्र नभै प्राथमिक विद्यालय तथा हाइस्कुलहरुमा पनि लागू हुनेछ ।एजेन्सी