गोरखा दरबारबाट हनुमानढोकाका लागि पठाइयो फूलपाती

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं : गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्।

फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि शनिबार साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ। गोरखा दरबारको दशैं घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ। गोरखा दरबारको दशैं घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो।

गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो। दरबारस्थित दशैं घरबाट बाजागाजा सतिपिपल चौतारासम्म र्‍याली निकाली गोरखाबाट फूलपातीको बढाइँ गरिएको उनले बताए।

यस्तै युनिटी अफ गोरखा, गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए। सतिपिपलबाट युवाले मोटसाइकल र्‍यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरी हनुमान ढोकामा फूलपाती पठाएका हुन्। फूलपातीबाट काठमाडौं पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा नगर प्रमुख राजनराज पन्त, वडा नं ६ का अध्यक्ष नारायण अर्याललगायतले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनको चर्चा गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्