पर्वत जिल्ला : एक परिचय

Parbat district
यस जिल्लालाई पार्वतीको जन्मस्थान मानिएको छ। पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणका आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ।
लाेकपाटी न्यूज
0 Shares

भौगोलिक परिचय

विश्व मानचित्रमा पर्वत २८० ००’ १९” देखि २८० २३’ ५९” अक्षांश र ८३० ३३’ ४०” देखि ८३० ४९’३०” देशान्तरमा रहेको छ। यस जिल्लाको सीमानामा पूर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्गजा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दी जिल्लाहरु पर्दछन्। यस जिल्लाको कूल क्षेत्रफल ४९४ वर्ग कि.मी. रहेको छ।

उचाइका हिसाबले समुन्द्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणीदेखि ३,३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू–भाग यस जिल्लामा पर्दछ। यस जिल्लाको कूल भूमि ५३६८६.२१ हेक्टरमध्ये वन क्षेत्रले ओगटेको जमिन १९,९९७ हेक्टर, कृषि भूमि २४,१७१ हेक्टर र प्रति जमिन, बुट्यान, भवन, बाटोघाटो, भीरपाखा तथा खोलाले ओगटेको जमिन ९,५१८ हेक्टर रहेको छ। यस जिल्लाको कूल कृषि जमिन २४१७१ हे. मध्ये खेत ९०७३ हेक्टर, जसमध्ये बाह्रै महिना सिंचाई हुने ६,४२० हे. र मौसमी सिंचाई हुने २६६६ हे. छ भने पाखोबारी १५,०९८ हे. रहेको छ।

कसरी रह्यो पर्वत नाम ?

धार्मिक प्रमाणका आधारमा यस जिल्लालाई पार्वतीको जन्मस्थान मानिएको छ। पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणका आधारमा पर्वत नामाकरण भएको पाइन्छ। परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाइन्छ।

इतिहासमा उल्लेख भएअनुसार राजा मलेबमका पालामा शक्तिशाली चौविसे राज्य पर्वत उत्तर भोटदेखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भयो। त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्य वि.सं. १८४४ मा नेपाल राज्यमा विलय भएको थियो। यसरी पुरानो इतिहास अध्ययन गर्दाको पर्वत र वर्तमान पर्वत जिल्लाको तुलनात्मक दृष्टिमा सानो सीमानामा नियन्त्रित भएको छ। क्षेत्रफलका हिसाबले नेपालको राजधानी काठमाडौं, ललितपुर र भक्तपुरपछि पर्वत चौंथो सानो जिल्लामा पर्दछ।

राजनीतिक विभाजन

राजनीतिक विभाजनअनुसार पर्वत जिल्लालाई १ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, २ प्रदेश सभा निर्वाचन क्षेत्र, २ नगरपालिका, ५ गाउँपालिका र ६२ वडामा विभाजन गरिएको छ। पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार हो भने अन्य प्रमुख बजार क्षेत्रहरुमा वारी बेनी, पातिचौर, डिमुवा, कार्किनेटा, फलेवास, लुँखु, हुवास प्रमुख व्यापारिक केन्द्र रहेका छन्। यहाँका स्थानीय तहहरुमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका, पैंयु गाउँपालिका र बिहादी गाउँपालिका पर्दछन्।

मानवीय सूचाकांकमा पर्वत

२०६८ को राष्ट्रिय जनगणनाको तथ्याड्क अनुसार यस जिल्लामा ३१,५२७ घरधुरीमा बसोबास गर्ने ३५७१९ परिवार छन्। जिल्लाको कूल जनसंख्या १,४६५९० रहेको छ। जसमध्ये महिला ८१,२८९ र पुरुष ६५,३०१ रहेका छन्। यस तथ्याङ्क अनुसार यस जिल्लामा पुरुषको भन्दा महिलको जनसंख्या बढी देखिन्छ। यस जिल्लाको जनसंख्या वृद्धिदर ०.७४ देखिन्छ। जनगणना २०६८ को तथ्याड्क अनुसार यस जिल्लाको साक्षरता ७३.८५ प्रतिशत रहेको छ। जसमध्ये पुरुष साक्षरता ८३.४२ र महिला साक्षरता ६६.३८ प्रतिशत रहेको छ।

शिक्षा क्षेत्रमा हेर्दा ५ क्याम्पस, १९ उ.मा.वि, ६२ मा.वि., ३४ नि.मा.वि. २१८ प्रा.वि. रहेका छन् भने निजि श्रोतका मा.वि.को संख्या ८ रहेको छ। शैक्षिक हिसाबले १६ श्रोत केन्द्र अन्तर्गत पर्वतका सम्पूर्ण विद्यालयहरू समावेश गरिएको छ। शिक्षाका दृष्टिले पर्वत जिल्ला अग्रणी जिल्लामै पर्दछ। निजामती प्रशासनदेखि राज्यका शैक्षिक एवं प्राज्ञिक क्षेत्रमा पर्वतको उपस्थिति सन्तोषजनक नै मान्नुपर्छ।

मानवीय विकासक्रमको दृष्टिले १५ औं स्थानमा पर्ने यस जिल्लामा ब्राम्हण, क्षेत्री, मगर, कामी, गुरुङ्ग, दमाई, सार्की, कुँवर, नेवार, घर्ती, ठकुरी, सन्यासी, कुमाल, बोटे, माझी, थकाली र मुश्लीम जातिको बसोवास रहेको छ। सडक सञ्जाल, खानेपानी र विद्युतीकरणका दृष्टिले समेत पर्वत अग्रभागकै जिल्लामा गनिन्छ। अत्याधुनिक अस्पताल नभए पनि जिल्ला अस्पताल, हेल्पिङ ह्याण्ड्स्, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ वटा आयुर्वेदिक स्वास्थ्य केन्द्र र सबै वडामा स्वास्थ्य चौकी/उपस्वास्थ्य चौकी रहेका छन्।

जलश्रोतको दृष्टिले हेर्दा पर्वतको पश्चिमि भागमा कालीगण्डकी नदी, मध्यभागमा मोदी भएतापनि यिनिहरूलाई सिंचाईको रूपमा उपयोग गर्न सकिएको छैन। अन्य स–साना खोलाहरू लुंदी, लस्ती, पाति, रति, जहरे, मल्याङ्गदी, चर्दी, लमाय, वाच्छा, सेति लगायतका खोलाहरू सिंचाइका मुख्य श्रोतहरू हुन्। विद्युत उपयोगको दृष्टिमा भोक्सिङ्ग, वाच्छा, पाङराङ्ग, भुक, क्याङ्ग र सरौंखोला गा.वि.समा लघुजलविद्युत योजना सञ्चालन भइरहेका छन् भने ठूला विद्युत योजना अन्तर्गत मोदी खोलामा करीब आधा दर्जन आयोजना सञ्चालनको क्रममा छन्। फलामखानीमा स्थानीय विकास कोषको प्रर्दशन कार्यक्रम अन्तर्गत हावाबाट सञ्चालन हुने विद्युत नमुनाको रूपमा देखाइएको छ।

पूर्वाधार विकास र पर्यटन

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार हो। जिल्लाका हरेक गाउँलाई कच्ची नै भएपनि मोटरबाटोले जोडेको छ। मोदीखोला जलविद्युत आयोजना सञ्चालनमा आएदेखि जिल्लामा विद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर पोखरा र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रलाई लक्षित गरेर जाने पर्यटकलाई आकर्षित गर्न सके यो सानो–सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।

कुश्मा बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा र मोदीवेनी देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। शिवरात्री, ठूली एकादशी र बालाचर्तुदशी जस्ता पर्वमा यहाँ भक्तजनको भीड लाग्छ। पञ्चासे, हम्पालको लेक र डहरेको लेक यस क्षेत्रका सम्भावना बोकेका पर्यटकीय स्थल हुन् भने दक्षिणि भेगमा अवस्थित शालिग्राम शिला उत्तिकै प्रसिद्ध छ। यसका साथै दक्षिणको पंैयुकोट दरबार पनि धार्मिक एवं ऐतिहासिक स्थलमा पर्दछ।

जिल्लाका मूख्य आकर्षण

यस जिल्लाका रमणीय लेकाली चुचुराहरूमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरूमध्ये पञ्चासे, डहरे तथा दक्षिणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरू हुन्। जहाँ शिशिरमा हिउँले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्यजन्तु र लालीगुराँस लगायतका धेरै सुन्दर फूलहरूले सिंगारिरहेका हुन्छन्। यी चुचुराहरूबाट उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खला र टाढाटाढाका मनमोहक दृष्य तथा बिहानीको सूर्योदयको सुन्दरताले पर्यटकहरूलाई मन्त्रमुग्ध पार्ने हुँदा पर्यटन विकासको सम्भावना त्यत्तिकै छ।

कुश्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी गुफा, बर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिरमुनीको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरू हुन् भने धार्मिक तथा पर्यटकीय दृष्टिले मोदीवेनीको नरसिंह मन्दिर, सेतीवेणीको शालिग्राम शिला, र्धारिङ्गको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरू, ठूली पोखरीको बाटुलेचौर, होश्रादीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरबार तथा किल्ला, माझफाँटको कर्णेलको दरबार, तथा लुंखुको महाशिला (मेलढुङ्गा) महत्वपूर्ण मानिन्छन्।

त्यसैगरि पर्वत जिल्लाका नेपालकै सबैभन्दा लामा र अग्ला झोलुङ्गे पुलहरु रहेका छन्। पर्वतको कुश्माबाट पर्वतको ज्ञादी जोड्ने, पर्वतको कुश्माबाट पर्वतको फलेवास जोड्ने र पर्वतको कुश्माबाट बाग्लुङको बलेवा जोड्ने ती पुलहरु हेर्न दैनिकजसो हजारौं पर्यटकहरु पर्वत भित्रिने गर्दछन्। कुनै बेला बाग्लुङलाई झोलुङ्गे पुलको जिल्लाका रुपमा चिनिन्थ्यो। तर, अब त्यो परिचय पर्वततिर सरेको छ। ती पुलहरुबाट कालीगण्डकी र मोदी खोलाको मनमोहक दृश्यका साथै आसपासको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

व्यवसाय र उत्पादन

पर्वत सानो जिल्ला भएता पनि लेक र बेंशीमा हावापानीको भिन्नता माटोको विविधता धरातलीय स्वरूप र मोहोडामा ठूलो अन्तर रहेकाले कृषि उत्पादनमा ताजा तरकारी, विभिन्न तरकारीको विउ, अदुवा, आलु, अलैंची, कफी, बेसार, आदी एवं फलफूलमा लप्सी, केरा, लीची, आरु, ओखर नास्पति आदि हुन्। बेंशीका समतल फाँटहरूमा उन्नत जातको धान फल्दछ। पशुपालनका दृष्टिले बाख्रा, कुखुरा, बंगुर, खरायो, गाईभैंसी नै व्यवसायका मुख्य आधार हुन्।

पर्वत जिल्लामा एकीकृत बस्तीहरु रहेका छन्। पर्वतको सालिजा, दुर्लङ, भुकदेउराली, क्याङलेसपार, चित्रे, आर्थर लगायतका स्थानमा होमस्टेलाई व्यवस्थित गरिएको छ। अन्य सम्भावित ठाउँहरुमा पनि होमस्टे प्रवर्द्धनको क्रम जारी छ। ढुंगाले छाएका घरहरुको दृश्यले पर्वत जिल्ला भित्रिने जो–कोहीलाई मोहित पार्दछ। यसरी हेर्दा पर्वत एक अग्रणी, आत्मनिर्भर र पर्यटकीय जिल्लाका रुपमा विकास हुँदै गएको मान्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्