कोशीटप्पुमा घट्दै पाहुना चरा

  • 22
    Shares
0

सुनसरी। आरक्ष प्रशासनका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष अहिले पाहुना चराको संख्या ५० प्रतिशत घटेको छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा तालतलैया सुक्नुका साथै चराको आहाराको मुख्य स्रोत मासिँदै गएपछि पछिल्लो समय पाहुना चराको आगमन घटेको छ।

आरक्ष क्षेत्रमा कात्तिक पहिलो सातादेखि पुस दोस्रो सातासम्म बाहिरबाट चराहरू आउने गर्छन्। ‘यस वर्ष ढिलो भयो कि भन्ने पनि छ, तर अब आउने सम्भावना देखिँदैन,’ चराविद् डा. हेमसागर बरालले भने।

‘तालतलैया र आहाराका स्रोतहरू मासिँदै गए। बढ्दो मानवीय चापले चराका लागि सुरक्षित वातावरण पनि भएन,’ कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले भने।

उनका अनुसार आरक्ष क्षेत्रभित्र माछा मार्न खुला गरिएकाले पनि चराको आहारामा समस्या भएको हो। कोशी टप्पु आरक्ष आसपासका क्षेत्रमा अधिकांश घरपरिवारले माछा मारेरै जीविकोपार्जन गर्छन्।

आरक्षमा रैथाने प्रजातिका चराको संख्या समेत घटेको उनको भनाइ छ। कोशीटप्पु आरक्ष क्षेत्रमा पाहुना चराको संख्या घटे पनि सुनसरीको दक्षिणवर्ती बर्जुतालमा भने बढ्न थालेको बताइएको छ ।

२०५२ सालदेखि ताल संरक्षण गर्न थालिएको ताल अहिले व्यवस्थित भइसकेको छ, जसले गर्दा पाहुना चरा बढ्न थालेको स्थानीयले बताएका छन्।

‘नेपालको सन्दर्भमा चराका लागि दोस्रो महत्त्वपूर्ण स्थल बनेको छ बर्जुताल,’ चराविद् बरालले भने, ‘कोशीटप्पुका कतिपय चरा बर्जुमा सरेका छन्।’ ठूलो जलाशय भएकाले बर्जुतालमा चराको आकर्षण बढेको उनको भनाइ छ।

Comments
Loading...
You might also like