सिन्धुपाल्चोक कारागारमा क्षमताभन्दा पन्ध्र गुणा बढी कैदीबन्दी

jail
रासस न्यूज
0 Shares

सिन्धुपाल्चाेक, १४ असार । ठाउँ अभावले सिन्धुपाल्चोकको कारागारमा क्षमता भन्दा पन्ध्र गुणा कैदीबन्दी राखिएको छ। वि.सं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले नवनिर्मित पुरुष कारागार भवन भत्केपछि सात महिला बन्दीका लागि निर्माण गरिएको कारागार भवनमा हाल १०५ जना कैदीबन्दी राखिएको कारागार कार्यालयका प्रमूख विश्वश्वर रेग्मीले बताए।

उक्त भवन पनि भूकम्पले चर्केका कारण पानी चुहिने हुँदा बजेट अभावका कारण प्लास्टिक ओढाएर कैदीबन्दीको सुरक्षा गर्न परेको कार्यालय प्रमुख रेग्मीले जानकारी दिए। हाल महिला बन्दी नभएका र आइहालेमा स्थान अभावका कारण प्रहरीको हिरासतमा राखी तुरुन्तै विभागमा पठाउने गरेको सो कार्यालयले जनाएको छ।

कैदीको चापका कारण महिला बन्दीका लागि बनाएका दुई वटा शौचालयमा लामो समयसम्म पालो कुर्नु पर्दा समस्या भोगिरहेकामा हालै मात्र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा थप तीन शौचालय निर्माण भएपछि केही सहज भएको छ।

त्यसैगरी कम्पाउन्डमा काँडेतार लगाएपछि कम्पाउण्डभित्र सामान्य हिँडडुल गर्नसमेत केही सहज भएको बताइएको छ। भूकम्प आउनासाथ फरार भएका २१६ कैदीमध्ये हालसम्म १२२ सम्पर्कमा आइसकेका छन् बाँकी ९४ अझै फरार छन्। त्यसमध्ये सुनकाण्ड लगायतका अपराधमा सजाय भोगिरहेका १२ विदेशी नागरिकसमेत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्