आचरण नसुधारे अर्को चुनावमा नेकपा सकिन्छ : भीम रावल

Bhim-Rawal-2
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताएका छन्।

नेकपाको बझाङ जिल्ला कमिटी सदस्यहरुलाई सदरमुकाम चैनपुरमा सपथ ग्रहण गराउन बझाङ पुगेका उनले कतिपयले कम्युनिष्ट हुँ भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताए। उनले सिद्धान्तअनुरुपको आचरण प्रस्तुत गर्न कार्यकर्तालाई निर्देशन दिए।

रावलले अहिलेको आचरणमा सुधार नगर्ने हो भने अर्को निर्वाचनमा नेकपाको अस्थित्व नै संकटमा पर्ने भन्दै पार्टीका शीर्ष नेताहरुलाई आचरणमा सुधार ल्याउन सुझाव पनि दिएका छन्। अहिलेकै अवस्था सरकार जनताबाट टाढिँदै जाने र भ्रष्टाचार बढेर जाने हो भने पार्टी पार्टीका रुपमा नरहने उनले बताएका छन्।

‘हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउन जरुरी छ, गरीब असहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भने। उनले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताए।

योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र संगठन कमजोर हुन्छ”, उनले भने। अहिले संघीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उनले जोड दिए।

एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन्। जिल्ला अध्यक्षमा पूर्वनेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ। सपथ ग्रहण कार्यक्रममा नेकपाका नेता लेखराज भट्ट, कर्ण थापालगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्