किन दिए किमले आफ्ना पाँच उच्च अधिकारीलाई मृत्युदण्ड ?

Kim Jong un
लाेकपाटी न्यूज

एजेन्सी। ट्रम्पसँग भएको दोस्रो शिखर वार्ता असफल भएपछि उत्तरकोरियाली शासक किम जोङ उनले आफ्ना ५ जना उच्च अधिकारीलाई मृत्युदण्ड दिएको खुलासा भएको छ।

गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको किमको दोस्रो शिखर वार्ता असफल भएपछि क्रुद्ध भएका उनले वार्ताका लागि वातावरण बनाउने र सहयोग गर्ने आफ्ना अधिकारीहरुलाई मृत्युदण्डको सजाय दिएका हुन्।

दक्षिण कोरियाको अखबार ‘चोसन इल्बो’ ती अधिकारीहरुलाई फायरिङ स्कावयडले गोली ठोकेर मृत्युदण्ड दिएको समाचार लेखेको छ। यसरी मारिनेमा उत्तरकोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि किम होक चोल पनि परेका छन्। चोलले डोनाल्ड ट्रम्पसँगको बैठक तय गर्ने जिम्मेवारी लिएका थिए। तर वार्ता असफल भएपछि रिसाएका किमले चोलले आफूलाई धोका दिएको भन्दै मृत्युदण्ड दिएका हुन्। भियतनाममा भएको शिखर वार्तामा चोल पनि साथमै थिए।

मृत्युदण्ड पाउनेमा विदेश मन्न्त्रालयका ४ जना अधिकारी पनि रहेका छन्। उनीहरु सबैलाई गत मार्चमा उत्तरकोरियाको मिरिम विमानस्थलमा गोली ठोकेर मृत्युदण्ड दिइएको भनेर चोसन इल्बोले लेखेको छ। उनीहरुलाई वार्ता असफल भएलगत्तै किमले धम्की दिएको समेत बताइएको छ। विदेश मन्न्त्रालयका अधिकारीमाथि अमेरिकाका लागि जासुसी गरेको बताइएको छ।

किमले आफ्नो भाषा ट्रान्सलेटको जिम्मा पाएका शिन हो योंगलाई समेत सजाय गरेका छन्। उनले ट्रम्प र किमबीचको भेटवार्ताका बेला लेखिएको प्रस्ताव पत्रको भाषा ट्रान्सलेट गरेका थिए। साथै आफ्नै बहिनी पर्नेमाथि पनि झुटो बोलेको भनेर उनले सजाय दिएको अखबारले लेखेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्