सरकार परिवर्तन हुन सक्छ : अमरेशकुमार सिंह

amreshkumar
लाेकपाटी न्यूज

बुटवल, १८ जेठ । नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले सरकार परिवर्तनको संकेत मिलेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे सहमति बाहिर ल्याउनु सामान्य नरहेको भन्दै यसबाट सरकार परिवर्तनको संकेत मिलेको दाबी गरे।  बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘यो प्रधानमन्त्रीसँग डिल नगर, अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाई दिएका हुन ।’

सिंहले ओलीको भारत भ्रमण निराशाजनक भएको समेत टिप्पणी गरे। सिंहले भने, ‘फर्केपछि उहाँसँग भेट त भएको छैन, ओलीजीको बडील्याङ्वेज हेर्दा,अनुहार मलिन छ,अघिपछिको जस्तो देखिएन।’ भारत लोकतान्त्रिक मुलुक भएकाले यसले नेपालमा लोकतन्त्र स्थापित भएको हेर्न चाहने पनि उनले तर्क गरे।

तर, अहिलेका प्रधानमन्त्री संघीयता असफल बनाउने र शक्ति आफैमा केन्द्रित गर्ने खेलमा लागेको सिंहको आरोप छ।
सिंहले ५ वर्ष ओली नेतृत्वको सरकार रहिरहे देशमा लोकतन्त्र नै नरहने पनि दाबी गरे। ‘ओली र राष्ट्रपति मिलेर शासन गर्न खोजेका छन्, हरेक गाउँपालिका र नगरपालिकामा भ्रष्टाचार बढिरहेको छ , नेपाली जनता र लोकतन्त्र कमजोर बनाउन प्रधानमन्त्री नै लागि परेका छन्’, उनले आरोप लगाए ।

प्रधानमन्त्रीले बुद्धिजिविलाई कोट काट्ने मुसा भन्ने गरेको र प्रेसको कलम पनि निमोठ्ने प्रयास गरेको भन्दै व्यक्ति मोटाएर अधिनायवाद मात्र आउने तर देश कहिल्यै नबन्ने बताए। लोकतन्त्र र कम्युनिष्ट सरकार सँगसँगै जान नसक्ने भन्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको समेत दाबी गरे।

संविधान सहमतिको दस्तावेज भएको बताउँदै सिंहले सरकार संघीयतालाई कमजोर बनाउन लागिपरेको पनि आरोप लगाए। सिंहले लोकतन्त्रका लागि एक पटक फेरि आन्दोलनमा उत्रने बेला आएको बताए।उनले लोकतन्त्र रक्षाका लागि काँग्रेस जनताको घरघरमा जाने समेत बताए।