प्रचण्ड प्रधानमन्त्री बन्ने नेता गजुरेलको घोषणा

haribol gajuel
लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्।

उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पार्दै भने, ‘यी कुरा त पहिलेदेखि नै मिडियामा आईरहेका कुरा हुन्। उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ। आलोपालोमा सहमति भैसकेको छ।’

उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए। ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’–उनले थपे। नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ। उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए। उनले भने,‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ।’

यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ। तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे। उनले भने, ‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन।’

त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो। उनले भने, ‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त?’