उर्जामन्त्री र कुलमानले उठाए जनमैत्रीकाे ५२ लाख बक्यौता

kulman- barshaman pun
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ । नेपाल विद्युत प्राधिकरणले बालाजुस्थित जनमैत्री हस्पिटलको बाँकी विद्युत् बक्यौता अशुल गरेको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपैयाँ बक्यौता अशुल गरेको हो ।

२०७३ को वैशाखमा प्राधिकरणले महसुल नतिरेपछि हस्पिटलको विद्युत लाइन काट्दै २०७३ माघ ३० गतेदेखि कालोसूचीमा राखेको थियो । त्यतिबेला हस्पिटलको विद्युत महसुल बक्यौता ८३ लाख ७८ हजार रुपैयाँ थियो । २५ प्रतिशत जरिवानासहित बक्यौता १ करोड ५ लाख रुपैयाँ पुगेको थियो ।

बालाजु वितरण केन्द्रका प्रमूख सुरज रेग्मीका अनुसार हस्पिटलले अहिले बक्यौता आधा तिरेको छ भने बाँकी रकम पाँच महिनाभित्रमा पाँच किस्तामा तिर्ने व्यवस्था मिलाएको छ । आधा बक्यौता तिरेको र बाँकी पनि तिर्न हस्पिटल तयार भएपछि विद्युत् लाइन छिट्टै जोडिने गरीको व्यवस्था मिलाइएको रेग्मीले जानकारी दिए ।

बालाजु वितरण केन्द्रले चालु आर्थिक वर्षको वैशाखसम्ममा कालोसूचीमा रहेका ७६ ग्राहकबाट ६५ लाख ५४ हजार रुपैयाँ अशुल गरेको छ । महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काटी १ करोड ६ लाख २५ हजार रुपैयाँ अशुल गरिएको प्रमूख रेग्मीले बताए । उनले बिजुली चोरी गर्ने १०५ जनालाई कारबाही गरी १२ लाख ९६ हजार अशुल गरिएको जानकारी दिए ।

केन्द्रका २६ हजार ग्राहकमध्ये करिब २९ प्रतिशतले अनलाइनमार्फत विद्युत महसुल तिर्ने गरेका छन् । केन्द्रले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ स्थित तारकेश्वर तथा नागार्जुन नगरपालिका र धादिङको धुनीबेसी नगरपालिकाको छत्रेदेउरालीसम्म सेवा दिँदै आएको छ । केन्द्रले अस्तव्यस्त अवस्थामा रहेका विद्युतका तार पोलहरु सुधार गर्ने, आवश्यक स्थानमा फेर्ने, ट्रान्सफर्मरहरु थप गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्