लोक सेवा आयोगको विज्ञापन सच्याउन माग

Aasha kumari Bk
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ। सांसद आशाकुमारी विकले लोक सेवा आयोगले खुला गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको हुँदा सच्याउन माग गरेकी छिन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विकले सो कुरा बताएकी हुन्।

लोक सेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन मापदण्ड विपरीत भएको आरोप लागेको थियो। नौ हजार कर्मचारी भर्नाका लागि लोक सेवाले ९२ जना मात्रै मधेशीको कोटा राखेकाले विज्ञापन स्वीकार्य नभएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका थिए।

यस्तै सांसद अमरेशकुमार सिंहले किसानले ऊखुको उचित मूल्य नपाउँदा लगानी जोखिममा परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद केदार सिग्देलले तनहुँको विकास आयोजना समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भने।

अर्का सांसद खगराज अधिकारीले हालै धनुषा र नवलपरासीका बालकलाई बलि दिएको घटनाप्रति आपत्ति जनाउँदै यस्ता घटना रोक्नेतर्फ सरकार गम्भीर बन्न आग्रह गरे भने सांसद गंगा चौधरी र घनश्याम खतिवडाले संसद्ले बनाएको ऐन कानून कार्यान्वयन किन भएन ? भनी प्रश्न गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्