अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटलाई

Marathune
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ। आर्मीका खगेन्द्र भाटले दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि हात जितेका छन्। अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा ६ मिनेट ५३ सेकेन्डमा पार गरि सो उपाधि जितेका हुन्।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवसको अवसरमा सोमबार आयोजना गरेको म्याराथनमा आर्मीकै वर्चश्व रह्यो। गत वर्ष पहिलो भएका आर्मीका हरिकुमार रिमाल यसवर्ष दोस्रो भए। उनले ४ घण्टा १४ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गरे। गत वर्ष उनले ४ घण्टा १७ मिनेटमा म्याराथन पूरा गरेका थिए। आर्मीकै गोपाल तामाङले ४ घण्टा २२ मिनेट २९ सेकेन्ड दूरी पार गरे। घान्द्रुकका स्थानीय धावक सचिन गुरुङ चौंथो भए। उनले ४ घण्टा २७ मिनेट २५ सकेन्डमा म्याराथन पूरा गरे।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जेठ १७ देखि २० सम्म आयोजना गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अन्तिम दिन म्याराथन भएको हो। एबीसीबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा टुंगियो। म्याराथनमा ५५ धावकले सहभागिता जनाए।

म्याराथनमा पहिलो हुनेले १ लाख ५ हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ५५ हजार रुपैयाँ प्राप्त गरे। विजयी धावकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले पुरस्कार वितरण गरे। अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव संयोजक ललित गुरुङले खेल पर्यटनको विकास र विस्तारमा थप टेवा र्पुयाउन म्याराथन आयोजना गरेको बताए।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। उनैले ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्