सोलुखुम्बुमा विप्लवको सैन्य तालिम केन्द्र रहेकाे खुलासा

biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ। सोलुखुम्बुमा नेत्रविक्रम चन्द विप्लवको सैन्य तालिम केन्द्र रहेको खुलेको छ। सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको हो।

जनयुद्धका समयमा तत्कालीन माओवादीले नै सेल्टरका रुपमा प्रयोग गर्दै आएको जिल्लाको महानुकुलङ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको गुदेलस्थित जंगलमा विप्लवले सैन्य तालिम चलाएको दाबी सुरक्षा स्रोतले गरेको छ। विप्लवले गुदेलको जंगलमा तालिम केन्द्र चलाएको सूचना डेढ महिनाअघि नै सदरमुकाम सल्लेरीस्थित सुरक्षानिकायलाई आएको थियो। सल्लेरीबाट २५ कोष टाढाको महाकुलुङ गाउँपालिकास्थित घना जंगलमा विप्लवले तालिम केन्द्र चलाएको सूचना पाएपछि डेढ अघिदेखि उक्त क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालित गरिएको थियो।

‘विप्लव समूहले गुदेलमा सैन्य तालिम चलाएको सूचनाका आधारमा त्यस क्षेत्रमा सशस्त्र प्रहरी ‘मूभ’ गरेका थियौँ’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकारी भन्छन्, ‘उनीहरुलाई त्यस क्षेत्रबाट हटाउने रणनीति अनुसार सशस्त्र प्रहरी पठाइए पनि तालिम केन्द्र रहेको जंगलसम्म पुग्न सकेका थिएनन्।’

विप्लवका लडाकुले महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण गर्न लागेको सूचना जिल्ला सदरमुकाममा साताअघि नै आएको थियो। सुरक्षा स्रोतका अनुसार विप्लवले छेस्काम प्रहरी चौकी आक्रमणको सूचना पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डिएसपी शालिकराम शर्मासहितको टोली शनिबार त्यसतर्फ गएको थियो। सदरमुकामबाट डिएसपीसहितको टोली पुगेपछि छेस्काम चौकीका प्रहरीलाई त्यहाँबाट अन्यत्र सारिएको थियो।