यी हुन् मूख्यमन्त्रीले देखेका पोखराका इन्जोय जोन

Prithivi-subba-gurung
लाेकपाटी न्यूज

पोखरा, २१ जेठ। सोमबार गण्डकी प्रदेशको संसदमा आइतबार संसद अवरुद्ध गर्नुको कारणबारे जानकारी गराउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली रोस्टममा पुगे। नेपालीले इन्जोय जोनदेखि आस्थाकै आधारमा कर्मचारीको हेरफेर गरेकोबारे सरकारको जवाफ मागे।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षको जवाफसहित बैठकलाई सम्बोधन गरे। मुख्यमन्त्री गुरुङले ‘इन्जोय जोनबारे हामी कहाँ छौँ। इन्जोय जोन भन्ने बित्तिकै नकरात्मक पाटोबाट हेर्छौं। के फनपार्क इन्जोय जोन होइन, आइटी पार्क इन्जोय जोन होइन ? के विशेष खालको रेस्टुरेण्ट इन्जोय जोन होइन ?’

उनले यसलाई इन्जोय जोन वा इन्टरटेनमेन्ट जोन जे भने पनि भन्न आग्रह गरे। विदेशमा छुट्टै व्यवस्था गरिएको बताउँदै उनले गण्डकी सरकार पनि इन्जोय जोन बनाउने पक्षमा रहेको उल्लेख गरे। उनले इन्जोय जोनका लागि पोखराकै पाँच ठाउँ उपयुक्त हुने बताए।

‘हल्लन चोकदेखि पामेसम्म, सराङकोटदेखि कास्कीकोटसम्म, कुबिन्डेदेखि मट्टिखानसम्म, ढिकिडाँडादेखि गर्लामसम्म, रुपादेखि बेगनाससम्मका ठाउँ अध्ययन गरी निजीक्षेत्रका लगानीकर्तालाई पर्यटन पूर्वाधार बनाउने वातावरण बनाउने,’ उनले भने, ‘यसभित्र एउटै रेस्टुरेण्टमा फरक खानाको स्वाद लिने, लाइब्रेरी, म्यूजिक कल्चरल, चिल्डे«नपार्क, जिम हल, जल क्रियाकलाप, एभेन्चर स्पोस्र्ट, मेडिटेसन सेन्टर, मजाज, योगा सेन्टर, फनपार्क, आइटीपार्क, गुफा, पर्यटक सूचना केन्द्र आदि एउटै ठाउँमा पाइने ठाउँ चाहिन्छ भनेका हौँ।’

उनले इन्जोय जोनलाई उपयुक्त अरु नाम भन्न पनि मिल्ने तर्क गरे। ‘टुरिस्टहरुले इन्जोय गर्ने इन्जोय पार्क भन्न पनि मिल्यो, रिफ्रेस सेन्टर भन्न पनि मिल्यो, पर्यटकीय केन्द्र भन्न पनि मिल्यो। के भन्दा उपयुक्त हुन्छ नाम त्यही भन्ने हो,’ उनले भने, ‘कानूनले निषेध गरेका गतिविधि हुँदैन।’ मुख्यमन्त्री गुरुङले इन्जोय जोन भन्नेबित्तिकै यौन व्यवसाय, गाँजा चरेश खाने अखडा नभएको बुझ्न पनि आग्रह गरे।

‘यहाँचाहिँ इन्जोय जोन भन्ने वित्तिकै यौन ब्यवसाय फस्टायो, गाँजा चरेस खाने भो भन्ने छ,’ उनले भने, ‘यी त कानूनले बर्जित छन्। कानूनले बर्जित गरेका कुरा सरकारले पार्क बनाएर स्थापना गर्ने प्रयत्न गर्छ र ? किमार्थ गर्दैन।’ कानूनले बर्जित गरेका कुराहरु त्यहाँ नपाइने उनको भनाइ छ। त्यस्तै उनले त्यहाँ जुवातास खेल्न पनि नपाइने बताए।

‘अरु व्यवसायको कुरा छोड्दिनु, गाँजा चरेस खाएर मात्र इन्जोय हुन्छ भन्ने होइन। पर्यटकले चाहेको कुरा एउटा ठाउँमा पाउँछ त्यो इन्जोय जोन हो।’ गण्डकी सरकारले लगानी सम्मेलन गरी इन्जोय जोनमा पनि लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्ने बताएको छ।

मुख्यमन्त्री गुरुङले ‘इन्जोय जोन’ शब्दबारेको नकारात्मक मानसिकता हटाउन पनि आग्रह गरे। ‘इन्जोय जोन’ शब्दप्रतिको नकारात्मक सोच सञ्चारकर्मीदेखि मन्त्री, सांसदहरुको सोच एउटै रहेको समेत उनले बताए। “हामीले के सोच्दा रहेछौँ, कहाँ छौँ भन्ने याद आउँछ, पत्रकार, सञ्चारकर्मी, मन्त्री सांसदहरुले नि त्यही सोच्दा रहेछौँ, इन्जोय जोन भन्नेबित्तिकै नकारात्मक पाटो हेर्दा रहेछौँ”, उनले भने।

कानूनले बर्जित गरेका कुनै पनि कार्य त्यहाँ नहुने उनले प्रतिबद्धता व्यक्त गरे। तर, इन्जोय जोन चाहिँ एउटा प्रोजेक्ट भएको उनले स्वीकार गरे। तर, यो यौनधन्दा चलाउने खालको, गाँजा, ड्रग्स प्रर्बद्धधन गर्ने खालको नभई एक फ्रेस पर्यटकले कसरी इन्जोय लिन्छ, सो अनुसारका सुविधासम्पन्न पार्क, रिसोर्ट वा अन्य कुनै योजना हुनसक्ने उनको भनाइ थियो।

आवासको व्यवस्था, विभिन्न मुलुकको खानाको लागि रेष्टुरेण्ट, लाइब्रेरी, नेपाली म्युजिक कल्चर, सांस्कृतिक ग्राम, पार्क, केभ, गाडर्नेन, जिम हल, साहसिक खेल गतिविधि, जल क्रियाकलाप, मेडिटेसन, स्पाः, मसाज, पर्यटन सूचना केन्द्र लगायतका सेवा एकै ठाउँबाट दिइने र त्यसलाई ‘इन्जोय जोन’को नाम दिइएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्