कोरियाली भाषा परीक्षा दिने १७ नक्कली विद्यार्थी पक्राउ

लाेकपाटी न्यूज

काठमाडौं, २५ जेठ। रोजगार अनुमति प्रणाली ‘इपिएस’ अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ। शनिबार र आइतबार हुने परीक्षामा ९२ हजार परिक्षार्थी सहभागी हुन लागेका छन्।

इपिएस कोरिया शाखाका अनुसार काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन्। इपिएस भाषाको परीक्षा दिने क्रममा आज १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। काठमाडौं र ललितपुरमा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी सोभाकर भण्डारीका अनुसार उक्त परीक्षा काठमाडौं, ललितपुर र पोखरामा चलिरहेको छ।

परीक्षामा ७७ हजार ३ सय ९३ पुरुष र १४ हजार ९ सय ८३ जना महिला परीक्षार्थी सहभागी हुनेछन्।
यो वर्ष उत्पादनमूलक क्षेत्रका लागि ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ जना परीक्षार्थीले परीक्षा दिनेछन्।

कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र कृषि तथा पशुलापन क्षेत्रतर्फ ३ हजार गरी १० हजार ५० जनाको लागि कोटा खुलाएको छ। तुलनात्मक रूपमा रोजगारीको लागि कोरियाली सरकारले मागेको कोटाभन्दा परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या झन्डै ९ गुणा बढी रहेको छ। गत वर्षको तुलनामा यो वर्ष परीक्षामा सहभागी परीक्षार्थीको संख्या दश हजारले बढेको शाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्