अशोक मुकारुङ एकल साँझ सम्पन्न

लाेकपाटी न्यूज

काठमाडौँ, २५ जेठ । अशोक मुकारुङ एकल सांगीतिक साँझ सम्पन्न भएको छ। काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा उक्त साँझ सम्पन्न भएको हो।

‘जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर’ ढल्किँदै गएको साँझमा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरको प्रेक्षालयमा गायक अशोक मुकारुङले शान्त र शालीन हाउभाउमा साङ्गीतिक प्रस्तुति आरम्भ गरे ।

बमबहादुर थापा जितालीको शब्द र भजनशिरोमणि भक्तराज आचार्यको सङ्गीत तथा स्वर रहेको उक्त गीतसँगै साङ्गीतिक साँझको सुरुवात गरेका गायक मुकारुङले त्यसलगत्तै आफ्ना प्रेमपरक गीत सुनाए, ‘सधैँ साथ दिन्छु भन्थ्यौ’, ‘गंगासरी तिमी बग्नू’, ‘तिमीबाट तिम्रो त्यो मन ।’

यसै गरी उनले प्रेमप्रणय, समाज, प्रकृति, संस्कृति लगायतका विषयवस्तुका गीत ‘झुल्केको घामसँगै’, ‘इलामे शहर चियाबारी राम्रो’, ‘पिखुवा खोला’, ‘चैते दसैँ’, ‘हलचल भयो’, ‘पिरती भाका’, ‘पानी त चिसो’ सुनाएर दर्शक÷श्रोतालाई भरपुर आनन्द दिए । गायनको अन्त्यमा उनले खेमराज गुरुङको शब्द तथा सङ्गीतको गीत सुनाएर माहौललाई उत्कर्षमा पु¥याए, ‘झम्के फुली लाएर कता हिँडेकी सानु ।’

कार्यक्रममा एक दर्जन गीत गाएका उनलाई ‘इलामे शहर’ गीतमा भने गायिका गंगा फियाकले सघाएकी थिइन् । ग्रामीण पुस्तकालय निर्माण र अक्षयकोष स्थापनाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको उर्वरा फाउन्डेशन नेपालकी अध्यक्ष देवकी अभिलाषीले बताइन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् वरिष्ठ गीतकार एस्पी कोइरालाको प्रमुख आतिथ्य र पूर्व संस्कृति, पर्यटन तथा नागकिर उड्डयनमन्त्री कृपासुर शेर्पाको विशिष्ट आतिथ्य रहेको थियो ।

पाँचथरमा जन्मिएका गायक मुकारुङ सिंगापुर पुलिस फोर्समा १८ वर्ष सेवा गरी हाल नेपालमा आएर अवकाशप्राप्त जीवनलाई गायनक्षेत्रमै समर्पित गरिरहेका छन् । उनका दर्जनौँ गीत लोकप्रिय छन् । प्रस्तुत कार्यक्रमबाट आफू उत्साहित भएको मुकारुङले प्रतिक्रिया दिए ।

कार्यक्रममा मुकारुङलाई सङ्गीतकार राजु सिंहको संयोजनमा मोहनकृष्ण कार्कीढली, नारायणदास कार्कीढली, मनोहर सुनाम, किशोर कार्कीढली, रविन कार्कीढली, अनुपदास, सुरज प्रधान, सञ्जीव लिम्बू, दिनेशराज रेग्मी, जयप्रकाश जोशी, जगन्नाथ दगुडा, भुपेन्द्र रसाइली, कुन्दन साह, बलराम समाल, हेमन्त कान्छा लगायतका सङ्गीतकर्मीले साथ दिएका थिए । यो गायक मुकारुङको पहिलो एकल साङ्गीतिक साँझ हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्