खटाएको ठाउँमा नगएपछि उपसचिव कार्की निलम्बनमा

sumankumar_karki
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा हाजिर नभएको भन्दै उपसचिव सुमनकुमार कार्कीलाई निलम्बन गरेको छ। रौतहटको गौर नगरपालिकाका प्रशासकीय अधिकृत रहेका कार्कीलाई दुई महिनाका लागि मन्त्रालयले निलम्बन गरेको हो।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हस्ताक्षर गरेको निलम्बन पत्रमा जेठ १ गते सरुवा गरे पनि कार्कीले अटेर गरेको उल्लेख छ। मन्त्रालयले गौर नगरपालिकाबाट सरुवा गरी कार्कीलाई दार्चुलाको शैल्यशिखर नगपालिका पठाएको थियो।

सरुवा भएको २१ दिनभित्र पनि कार्की हाजिर हुन नगएको, लिखित र मौखिक रूपमा तीन दिनभित्र हाजिर हुन निर्देशन दिए पनि अवज्ञा गरेपछि निलम्बन गरिएको मन्त्रालयको भनाई छ।

‘खटाएको कार्यालयमा बहाल गर्न नगई त्यहाँ (गौरमा) रइरहेको तथा तपाईं उपर यस मन्त्रालयमा विभिन्न उजुरी प्राप्त भएकोले निजामति सेवा ऐन २०४९ अनुसार अभियोगको जाँचबुझ गर्ने प्रयोजनका लागि दुई महिनाका लागि तपाईंलाई निलम्बन गरिएको छ,’ सचिव कोइरालाले हस्ताक्षर गरी गौर नगरपालिकालाई बोधार्थ दिएको पत्रमा भनिएको छ। मन्त्रालयले कार्कीलाई शुक्रबार निलम्बन गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्