‘गुठी विधेयक भू-माफिया र भ्रष्ट कर्मचारीको षड्यन्त्रमा आयो’

अजय क्रान्ति शाक्य
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका काठमाडौंबाट निर्वाचित सांसदहरु पनि विधेयकविरुद्ध उभिएका छन्। गुठी विधेयकविरुद्ध आन्दोलन नै चलिरहेका बेला नेकपाका सांसदहरुले पनि यसको विरोध गरेका हुन्।

काठमाडौं–९ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका नेता अजय क्रान्ति शाक्यले गुठी विधेयक भू–माफिया र भ्रष्ट कर्मचारीको षड्यन्त्रबाट आएको आरोप लगाए। गुठी विधेयकका मुख्य गरेर २३, २४ र ६० लगायतका दफाप्रति तीव्र असन्तुष्टि रहेको उनले बताए। ती बुँदा संशोधन नगर्ने हो भने लिच्छवीकालदेखिको सामाजिक, सास्कृतिक र धार्मिक परम्परालाई बोकेको गुठी प्रणाली समाप्त हुने शाक्यले बताए।

उनले भने, ‘लिच्छवी कालमा गोष्ठीका रुपबाट सुरु भई मल्लकालबाट गुठीका रुपमा आएको गुठी प्रणाली यो विधेयक हुवहु अघि बढ्ने हो हो भने भने समाप्त हुन्छ। गुठी हाम्रो परम्परा अनुसार जन्मदेखि मृत्युसम्म आवश्यक हुन्छ। अहिलेकै विधेयक हुवहु अघि बढ्ने हो भने हाम्रो सामाजिक परम्परा, सस्कृति र धर्म नै समाप्त हुन्छ।’
विधेयकको दफा २३.१ यो ऐन प्रारम्भ हुनु अघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठी यो ऐन प्रारम्भ भएपछि स्वतः राजगुठीमा परिणत हुनेछन् भनी उल्लेख गरिएको प्रति संकेत गर्दै डाक्टर शाक्यले उक्त दफामा संशोधन आवश्यक रहेको बताए।

त्यसैगरी, उपदफा (१)मा राजगुठीमा परिणत हुने छुट गुठी र सार्वजनिक गुठीको चल अचल सम्पत्ति, जायजेथा, देव देवीको प्रतिमा आदिमा भइरहेको गुठीयारको हक र दायित्व प्राधिकरणमा सर्नेछ भनी उल्लेख गरेको बुँदामा पनि संशोधन आवश्यक रहेको उनले बताए।

सांसद् शाक्यले गुठीका नाममा हुने भ्रष्टाचारको अन्त्य गर्ने खालको ऐन अहिले आवश्यक रहेको बताए। ‘तर, अहिलेको विद्येयक गुठीभित्रको भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यले भन्दा पनि भू–माफिया र भ्रष्ट कर्मचारीको षडयन्त्रमा आएको जस्तो देखिएको छ,’ उनले भने ‘यो तत्काल संशोधन गर्नुपर्छ।’