भारतीय गाडी चलाउन कडाइ

Meeting
लाेकपाटी न्यूज
0 Shares

वीरगञ्ज, ३१ जेठ । पर्सामा भारतीय गाडी सञ्चालन गर्न कडाइ गरिने भएको छ। भारतीय गाडी सञ्चालन गर्न कडाइ गर्ने तयारी गरिएको हो।

नियम विपरीत सञ्चालित भारतीय गाडीप्रति प्रहरी प्रशासन कठोर बनेको छ। भारतीय गाडी विभिन्न अपराधिक क्रियाकलापका साथै लागूऔषधको कारोबार र तेल तस्करीमा समेत प्रयोग हुन थालेपछि कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ। केही दिन यता प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेर अनुमति पत्र नलिइ सञ्चालनमा रहेका भारतीय सवारीलाई कारवाही गरिरहेको छ।

त्यसक्रममा ७ वटा गाडी नियन्त्रणमा लिएर भन्सारमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। दैनिक पाँच सय भन्दा बढी भारतीय साना सवारी नेपाल आउने गरेको भन्दै उनले त्यसमध्ये ४ सय वटा दर्तासमेत नगरी नेपाल आउने गरेको बताए।

त्यस्तै मोटरसाइकल १ हजारको हाराहारी ओहोरदोहोर गर्ने गरेको तथ्यांक प्रहरीसँग रहेको छ । ‘दर्ता नहुँदा लाखौं रुपैयाँ दैनिक राजश्व घाटा भइरहेको छ भने अर्कोतर्फ भारतीय सवारी अपहरण, चोरी, लागूऔषध तस्करीमा संलग्न भएको पाइएको छ। प्रज्ञापनपत्र बिनाका सवारी साधन चल्न दिन सक्ने अवस्था छैन। त्यसैले चेकजाँचमा कडाइ गरेका हौं,’ प्रहरी उपरीक्षक राठौरले भने।

उनले सीमावर्ती क्षेत्रमा चोरीका भारतीय गाडी पनि उत्तिकै सूचना भारतीय पक्षबाट आएकोले अनुसन्धान गरिरहेको बताए। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पर्साको ग्रामीण क्षेत्रमा तेलको खपतमा अस्वभाविक वृद्धि हुनुको पछाडि भारतीय सवारी नै रहेको बताए। उनले दुःख दिने नियतले नभइ खराब गतिविधिमा भारतीय गाडीको प्रयोग भएकोले कडाइ गरेको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्