लोकसेवा विज्ञापनको विवाद बढे पनि घटेनन् आवेदक, कतिले भरे आवेदन ?

Loksewa
लाेकपाटी न्यूज

काठमाडौं, २ असार। लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विज्ञापनमा चर्को विरोध भइरहँदा पनि स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ।

आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १ सय ६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो। आयोगका अनुसार आइतबारसम्म झन्डै १ लाख ६० हजारको आवेदन दर्ता भएको छ।

खुलातर्फ १ लाख ५५ हजार ३ सय ८५, महिलामा ३८ हजार ५०६, जनजातिमा १७ हजार ५३९, मधेसीतर्फ ९ हजार ५४९, दलित तर्फ १ हजार १७१, अपांगता भएकातर्फ ७२ र पिछडिएका क्षेत्रतर्फ ५० जनाको आवेदन परेको छ । आवेदनबापत २ करोड २४ लाख ४७ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको स्थानीय तहको माग आकृतिका आधारमा ५ सय १५ स्थानीय तहका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया थालेको थियो। आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन आह्वान गरेको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गरी करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो। त्यसपछि पनि आयोगमा आवेदन आउने क्रम घटेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्