को पहिला बोल्ने भन्ने विवादले संसद बैठक स्थगित

samsad_
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीभन्दा पहिला संसदीय दलका नेता देउवालाई बोल्न दिनुपर्ने माग गर्दै प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेका बेला कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्।

यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा  पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए।

प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण १२ बजेमात्र सुरू भएको थियो।

कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले गुठी विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संसदीय दलका नेताले सदनमा बोल्न पाउनु पर्ने माग सभामुखलाई भेटेरै जानकारी गराएको बताइन्।

आफ्ना नेतालाई बोल्न समय नदिने भए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी थियो। बैठक सुरू हुनासाथ प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेर संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए।

पटकपटक प्रधानमन्त्रीका कुरा सुनौं भन्दै कांग्रेस सांसदलाई अनुरोध गरेका सभामुख महराले बैठक भोली बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्