पाचौं चितवन च्याम्पियनसिप : देशभक्त फुटबल क्लब सेमीफाइनल प्रवेश

लाेकपाटी न्यूज

चितवन, ३ असार । चितवनको भरतपुरमा जारी पाँचौं हनामी चितवन च्याम्पियनसिप अन्तर्गत हिजाे सोमबार भएको खेलमा देशभक्त फुटबल क्लब नवलपरासी विजयी भएको छ ।

क्वाटर फाईनल अन्तर्गत हिजाे तेश्रो दिन भएको खेलमा ३–२ का अन्तरले हर्दी युवा समाज भण्डारालाई हराउँदै देशभक्त फुटबल क्लब नवलपरासी सेमीफाइनल प्रवेश गरेको छ ।

हर्दी युवा समाजका ७ नम्बर विज्ञान चौधरीले २४ औँ मिनेटमा गरेको आत्मघाती गोल नै देशभक्त फुटबल क्लबलाई विजयी गराउन सफल सावित बनेको आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले बताए ।

देशभक्त कलबका १४ नम्बर खेलाडी रन्जीत मगरले पहिलो हामको २६ औँ मिनेट दोश्रो हाफको १९ औँ मिनेट गरेको गोलकै कारण उनी म्यान अफ दिन म्याच समेत घोषित भएका थिए । भोलिको खेल सुन्टदरा फुटबल क्लब काठमाडौँ र अभिषेक चर्च रजहरबीच हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

आजको खेलमा जनक शिक्षा सामाग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिना प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा प्रयोजक अल्फाविटाका केन्द्रीय व्यवस्थापक धुव्रकुमार शिवाकोटी, मनिप्लान्ट सहकारीका अध्यक्ष सुदर्शन पराजुली, सिईयो ओम बस्नेत, सुमन देवकोटा, ओम पाण्डे, सन्तोष पनेरु लगायतको सहभागीता रहेकाे थियो ।

‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा सहभागी भएका १६ टिममध्ये नौ वटा टिम प्रतियोगिताबाट बाहिरिइसकेकाे देवकोटाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने देवकोटाले जानकारी दिए । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने देवकोटाको भनाइ छ ।

सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०र१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुले बताए ।

असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।

प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ ।

फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकहरुमध्येबाट हरेक दिन एक जनालाई लक्की ड्र मार्फत मोबाइल पुरस्कार प्रदान गरिदै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्