इन्सेफलाइटिसबाट मृत्यु हुने बालबालिकाको संख्या १ सय नाघ्यो

Bahir_birami pic
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी, ३ असार । इन्सेफलाइटिसबाट मृत्यु हुने बालबालिकाको संख्या १ सय नाघेको छ। बिहारमा भाइरल इन्सेफलाइटिसबाट मृत्यु हुने बालबालिकाको संख्या १ सय ३ पुगेको छ।

भारतीय विभिन्न सञ्चारमाध्यमका अनुसार १० वर्षभन्दा कम उमेरका २ सयभन्दा बढी बालबालिकाको उपचार भइरहेको छ। अधिकांशको हाइपोग्लाइसिमिया अर्थात् रगतमा चिनीको मात्रा कम भएर मृत्यु भएको प्रदेश सरकारको दाबी छ।

बिहार र छिमेकी राज्य उत्तर प्रदेशमा सन् १९७० को दशकको अन्त्यतिर इन्सेफ्लाइटिस पहिचान भएयता हजारौं बालबालिकाको मृत्यु भएको छ। बिहार राज्य सरकारले सबै बिरामीको उपचार खर्च बेहोर्ने जनाएको छ। स्थानीय बासिन्दाले काँचो लिची खाँदा बालबालिको ज्यान गएको बताउँदै आएका छन्। तर, चिकित्सकहरुले भने यसको पुष्टि गरेका छैनन्।

जुनको सुरुबाट फैलिएको भारइलबाट मुजफ्फरपुर सहर सबैभन्दा बढी प्रभावित बनेको छ। बर्खामा फैलने यो रोगले बालबालिकालाई बढी असर गर्छ । टाउको दुख्नु, बान्ता हुनु र बेहोस् हुनु यस रोगका प्रमुख लक्षण हुन्। त्यसका साथै मगजले काम नगर्ने, झाडापखाला लाग्ने तथा मुटु र मिर्गौलामा असर गर्ने हुन्छ।

उत्तर प्रदेशमा सन् २०१२ मा इन्सेफलाइटिसबाट ३ सय ९० बालबालिकाको मृत्यु भएको थियो। २०११ मा उत्तरी भारतमा ४ सय ६० बालबालिकाको मृत्यु भएको थियो। यस्तै २००५ मा उत्तर प्रदेशको गोरखपुरमा १ हजार बालबालिकाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्