आज चीनियाँ राष्ट्रपति उत्तर कोरिया जाँदै

china-president pic
लाेकपाटी न्यूज

बेइजिङ, ५ असार । चीनियाँ राष्ट्रपति सी जिनपिङ आज बिहीबार उत्तर कोरिया जाँदै छन्। चीनियाँ राष्ट्रपति सीले बिहीबारदेखि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण गर्दैछन्।

चिनियाँ राष्ट्रपतिबाट १४ वर्षपछि पहिलो पटक उत्तर कोरियाको भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग कोरियाली प्रायद्वीपले झेलिरहेको आर्थिक समस्या र उसको आणविक कार्यक्रमबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चीन र उत्तर कोरिया पुराना मित्र भए पनि पछिल्लो समय आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघले लगाएको आर्थिक प्रतिबन्धमा चीनले समर्थन जनाएपछि यी दुई देशबीचमा केही चिसोपन आएको छ। राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ। सन् २०१२ मा सत्ता सम्हालेका सीले छिमेकी राष्ट्र उत्तर कोरियाको भ्रमण गरेका थिएनन्।

उत्तर कोरिया चीनको नजिकको व्यापारिक साझेदार हो। जापानमा हुन लागेको जी–२० शिखर सम्मेलनअघि सीको उत्तर कोरिया भ्रमणलाई महत्वसाथ हेरिएको छ। सीले सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरिएको छ।

किमले पछिल्ला दुई वर्षमा चारपटक चीनको भ्रमण गरे पनि चिनियाँ नेताको उत्तर कोरिया भ्रमण भएको थिएन। पछिल्लोपटक सन् २००५ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले प्योङयाङको भ्रमण गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्