कांग्रेसले संविधान र कानूनको उल्लङ्घन गर्यो : योगेश भट्टराई

Yogesh bhattarai
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ असार । सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले संविधान र कानूनको उल्लङ्घन गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उनले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीले संविधान नियम, कानून नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताएका हुन् ।

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्परा विपरित भएको तर्क सांसद भट्टराईले गरे । उनले आफूलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै उनले प्रतिनिधिसभा नियमावलीको दफा १२ मा दैनिक कार्यसूचीको बारेमा उल्लेख भएको र त्यसलाई संसदमा रहेका सबैले मान्नुपर्ने बताए ।

उनले भने, ‘सभामुखका आदेश मान्दैनौं ? नियम मान्दैनौं । कानून मान्दैनौं । संविधान मान्दैनौं । किन कि दुनियाँले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमानेपछि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ । त्यसकारणले संविधान मान्दैनौं । कानून मान्दैनौं । कानून र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ ।’

उनले आगामी दिनमा यस्ता क्रियाकलापप्रति पुनर्विचार गर्न पनि आग्रह गरे । उनले भने, ‘मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचना गर्ला भनेको त भोलिपल्ट आएर झन् रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्यो ।’

उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गरे । उनले भने, ‘विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्