कसरी मारिए विप्लवका जिल्ला इञ्चार्ज ?

Kumar paudel biplab cader
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रहरीको गोली लागेर नेपाल कम्युनिस्ट पार्टीका एक जिल्ला इञ्चार्जको मृत्यु भएको छ। प्रहरीको गोलीबाट नेकपाका सर्लाहीको लालबन्दीमा इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको हो।

बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखनदेही नदी नजिकै करिब २ बजेको समयमा नेकपाका कार्यकर्तामाथि प्रहरीले फायर गरेको विप्लव नेकपाले दावी गरेको छ। आफ्ना नेता कार्यकर्तालाई पछ्याउदै गएको प्रहरीले एकाएक गोली चलाएको नेकपाले बताएको छ।

दोहोरो भीडन्तको हवाला दिएर प्रहरीले आफ्ना जिल्ला इन्चार्ज पौडेलको हत्या गरेको नेकपा स्रोतले बतायो। नेकपाका एक नेताले दोहोरो भीडन्त नभएको र आफ्ना नेतालाई प्रहरीले गोली हानेर हत्या गरेको दावी गरेका छन्।

तर, यता प्रहरीले भने दोहोरो भीडन्त हुँदा एक जनाको मृत्यु भएको बताएको छ। गस्तीमा गएको प्रहरीमाथि नेकपाका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारवाही गरिएको प्रहरीले बताएको छ। पौडेलसँग भएका अन्य फरार भएको प्रहरीले बताएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव माओवादीबीच दोहोरो गोली हानाहान भएकै हो।

दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले दावी गरेका छन्। गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको समेत प्रवक्ता पोखरेलले दावी गरेका छन्।

नेकपा नेता कार्यकर्तालाई पछ्याउदै दुई नम्बर प्रदेश प्रहरी, विशेष ब्यूरो र इलाका प्रहरी कार्यालय लालबन्दीको टोली गएको थियो। घटनाको कानूनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ। घटनामा संलग्न अन्य तीन जना फरार रहेको प्रहरीले बताएको छ।

यसैबीच यता उपत्यकाबाट नेकपाका दोलखा इञ्चार्जसहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले दोखला इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, रामेछापका कुलदिप तामाङ, अखिल क्रान्तिकारीका ताम्सालिङ ब्युरो संयोजक मुकुन्द श्रेष्ठ र उदयपुर अध्यक्ष विशाल तामाङलाई बिहीबार दिउँसो गिरफ्तार गरेको छ।

प्रहरीका अनुसार कुलदिपलाई भक्तपुरबाट र अन्यलाई काठमाडौंबाटै गरिएको हो। नेता कार्यकर्ताको विरोधमा अखिल (क्रान्तिकारी) ले भोलि शुक्रबार आम शैक्षिक हड्ताल आव्हान गरेको छ। संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्तारीको विरोधमा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो।

वर्तमान केपी ओली नेतृत्वको सरकारले संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतंकका श्रृखंलाहरु नै चलाएपछि विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा भोलि एक दिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए।

अध्यक्ष ढकालले बन्द आह्वान गरिएका जिल्लामा रहेका सबै शैक्षिक संस्थाहरुलाई एक दिन बन्द गरेर सहयोग गरिदिन समेत अपिल गरेका छन्। आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न सरकारले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत प्रदर्शन गरिरहेको भन्दै अध्यक्ष ढकालले जस्तोसुकै दमन गरे पनि नझुक्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्