गाउँमा बिजुली बलेसँगै स्थानीयबासी खुसी

nawalpur hardi
रासस न्यूज

नवलपुर , ७ असार । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको गैडाकोट नगरपालिका ३ हर्दीमा बिजुली बलेसँगै स्थानीयबासी खुसी भएका छन्।

शुक्रबार गैडाकोट नगरपालिकाका नगरप्रमूख छत्रराज पौडेलले मिटरबक्सको स्वीच अन गरेपछि हर्दीमा पहिलोपटक बिजुली बलेको हो। हर्दीका स्थानीय सोम भुजेल गाउँमा पहिलोपटक बिजुली बलेपछि दंग छन्।

धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएका भुजेल बत्ती बाल्न पाएपछि जनप्रतिनिधिलाई बषौंदेखि गर्दै आएको गुनासो सम्बोधन भएको बताए। गैडाकोट नगरपालिका र हर्दीको दूरी खासै नभए पनि बिजुली पुगेको थिएन। ‘हामीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा बिजुली बाल्नुपर्छ भन्ने माग राख्यौं, उनले भने’, ढिलै भएपनि बिजुली बाल्न पाँउदा खुसी छौं।’ उनले जनप्रतिनिधि र स्थानियको दोडधुप र मेहनतले बिजुली बाल्न सम्भव भएको बताए।

‘पहिले मट्टितेल र सोलारको मधुरो उज्यालो हुन्थ्यो,’ उनले भने’ खाना पकाउन, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सहज हुनेभयो ।’ बिजुली बलेपछि हर्दीका ६७ घरधुरी उज्यालोमा बस्न पाउने छन्। सुरुमा १९ घरमा मिटर बक्स जडान गरेर बिजुली बालिएको छ भने १५ दिनभित्र अन्य घरधुरीमा पनि बिजुली बाल्ने तयारी गरिएको छ।नेपाल विद्युत प्राधिकरणको करिब ३५ लाख र नगरपालिकाको विद्युतीय सामाग्री ढुवानी लगायतको सहयोगमा विधुतिकरण सम्पन्न गरिएको हो।

देबघाटदेखि हर्दीको ट्रान्सफर्मरसम्म ३० वटा पोल प्रयोग भएका छन् भने घरघरमा बत्ती पुर्‍याउन ४० वटा पोल प्रयोग गरिएको छ। गैडाकोटका ग्रामिण क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तगरत हर्दीमा विजुली बालिएको नगरप्रमूख पौडेलले जानकारी दिए। उनले निर्वाचनका बेला जनतासँग गरेको बाचा पूरा गरेको बताए। उनले निर्वाचित भएपछि छ महिनाको बीचमा विद्युती ल्याउन चितवनतर्फबाट प्रयास गरेको भन्दै विविध कारणले अबरोध भएको बताए। डेढ बर्षको मेहनतपछि बिजुली बलेको भन्दै समृद्ध गैडाकोट अभियान रुपरेखा कोरिसकिएको उनले बताए।

पौडेलले केही छिटपुट घर बाहेक सबै घरमा यो आर्थिक वर्षभित्रै विजुली पुग्ने प्रतिबद्धता जनाए। वडा नम्बर ३ मा सात करोडको खानेपानी बिस्तार गरेको उनले बताए। उनले कालिगण्डकीबाट लिफ्टको माध्यामबाट स्थानीयलाई सिँचाइको सुविधा प्रदान गरिने बताए। ‘विद्युत बलेसँगै हर्दी क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउने हो,उनले भने’,यहाँ होमस्टे निर्माण गर्न नगरपालिकाले सहयोग गर्छ।’ उनले नागरिकलाई उत्पादनमूलक काममा लाग्न आग्रह गर्दै नगरपालिकाको लगानी उत्पादनमूलकतर्फ हुने विश्वास दिलाए।

नेपाल विद्युत प्राधिकरण गैडाकोट शाखाका प्रमूख सुजन रिजालले हर्दीमा विद्युतीकरणका लागि प्राधिकरणसँगै स्थानीयले पनि श्रमदान गरेको बताए। उनले विद्युत नियमित गराउन प्राधिकरणका तर्फबाट अधिकतम प्रयास गरिनेभन्दै स्थानीय पनि विद्युतको प्रयोगमा सचेत बन्नुपर्ने बताए। सिँचाइ प्रयोजनका लागि बोरिङ्ग र कालिगण्डकीबाट लिफ्ट सिँचाई ल्याउनसमेत सकिने गरी ५० केभिएको ट्रान्सफर्मर राखिएको छ,उनले भने। गैडाकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले लामो समयको प्रायासपछि गाउँमा विद्युत बाल्न सफल भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्